
१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तिनकुनेको विवादको विषयमा टिप्पणी गरेपछि फेरी चर्चामा आएको छ ।
लामो समयदेखि समस्या रहेको तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना बजेटमै ल्याएका बालेनले सामाजिक सञ्जालमा सो क्षेत्रबाट निर्वाचित भएका नेताहरुलाई प्रश्न गरेका थिए ।
असोज १ गते सामाजिक सञ्जालमा लेख्दै शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका हुन् ।
काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका थिए ।
बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।
‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले लेखेका छन् ।
नीति कार्यक्रममा समेटियो
उसो त महानगरले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नम्बर ३२ स्थित तिनकुने जग्गाको मुआब्जा सम्बन्धी विषयको समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक पहल गरिने उल्लेख पनि गरेको छ ।
बजेटमार्फत महानगरले समाधान भएपश्चात उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गरिने घोषणा गरको छ ।
मेयर बालेन तिनकुनेमा बेसमेन्ट सहितको अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउने पक्षमा छन् । बालेनको सचिवालय प्रमुख भुपदेव शाहका अनुसार यो वर्षमा नै पार्क बनाउने तयारी भइरहेको छ ।
पार्कको लागि दंशै पछि अध्ययन समेत सूरु गरिनेछ । ‘संघीय सरकारले के गर्छ भन्दा पनि हाम्रो मातहतमा रहेका क्षेत्रको संरक्षण र प्रवर्द्धन हामी गर्छौं । संघीय सरकारले मुआब्जाको विषयमा देखिरहेको समस्या समाधान गर्दियोस भन्ने मात्रै महानगरको धारणा हो ।’ महानगरले सस्तो प्रचारको लागि मात्रै गरेको हो ? भन्ने प्रश्नमा शाह भन्छन् ‘हामीले यो प्रचारको लागि त गरेकै होइन, महानगरले आन्तरिक तयारी गरिरहेकै छ । यहाँ पार्क बनाउने नै हो । मुआब्जा विवादबारे संघीय सरकारले समाधान गर्ने कुरा हो । महानगरले पाएको सबै अधिकार हामी प्रयोग गर्छौं ।’
४७ वर्षदेखि अलपत्र
४७ वर्षदेखि खाली बनेको तीनकुनेको मैदान अलपत्र र अस्तव्यस्त छ । तत्कालीन सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण सुरु गरेको थियो । त्यसबेलादेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको थियो ।
सरकारले पछिल्लोपटक २०५९ असार ३२ मा प्रतिरोपनी ५१ लाख २० हजार रुपैयाँ मुआब्जा रकम तोकेर वितरणको लागि १५ करोड निकासा गरेको थियो । महानगरपालिकाले २०६४ माघ १४ देखि ६६ माघ मसान्तसम्म ३५ कित्ता जग्गाको मुआब्जा वितरण सुरु गरे पनि जग्गा धनीले चित्त नबुझाएपछि सबै रकम वितरण हुन सकेन ।
पार्कको ३५ रोपनीमध्ये २१ रोपनी जग्गाको मुआब्जा सरकारले दिइसकेको छ । नेपाल सरकारले पठाएको १५ करोड मध्ये १० करोड ८० लाख मात्रै वितरण भएको छ ।
बाँकी जग्गाधनीले मुआब्जा रकम बुझ्न नमानेपछि २४ साउन २०७० मा काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बाँकी रकम फिर्ता पठाएको थियो ।
प्रतिक्रिया 4