+
+

नयाँ नोट छाप्नै बाहिरिन्छ वार्षिक साढे २ अर्ब

विजय पराजुली विजय पराजुली
२०७९ असोज १८ गते १५:५६

१७ असोज, काठमाडौं । हरेक वर्ष दशैंका बेलामा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँछ । यो वर्ष पनि साना दरका १४ अर्ब रुपैयाँ र ठूला दरका ३५ अर्ब रुपैयाँका गरेर करीब ५० अर्ब रुपैयाँ हाराहारीका नयाँ नोट बजारमा पठाएको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतिरमण नेपाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ६ असोजदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । सर्वसाधारणको लागि भने राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामार्फत नोट सटही सुविधा दिइएको थियो ।

२६ असोजमा चलन चल्तीमा रहेको नोट (नोट सर्कुलेसन) ६ खर्ब ७ अर्ब रहेकोमा १३ असोज बिहीबार साँझसम्म ६ खर्ब ५७ अर्ब पुगेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशक रेवति प्रसाद नेपाल बताउँछन् । शुक्रबार थप ३ अर्बको माग आएको थियो ।

हरेक वर्ष दशैंको समयमा यसरी नै नयाँ नोट बजार जान्छ, तर जतन नहुँदा वर्षेनी ठुलो मात्रामा नोट झुत्रा हुने गरेको छ । यसरी काम नलाग्ने बनेका नोटहरु राष्ट्र बैंक पुग्छन् ।

केन्द्रीय बैंकको अनुसार हरेक वर्ष ४० देखि ५० अर्ब हाराहारी झुत्रा नोटहरू नष्ट गरिन्छ ।

यसरी हरेक वर्ष नयाँ नोट नष्ट हुने र राष्ट्र बैंकले पुनः छपाउने प्रक्रिया निरन्तर चलिरहन्छ ।

राष्ट्र बैंकले नोट छाप्नको लागि ग्लोबल ट्रेन्डर गर्छ भने विदेशी कम्पनीमार्फत नोट छापिएर आउने गर्छ ।

नोट छपाइकै लागि हरेक वर्ष अर्बौं रुपैयाँ विदेशिने गरेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति प्रसाद नेपाल बताउँछन् । ‘नोट छपाइका लागि हरेक वर्ष औसतमा करिब साढे २ अर्ब खर्च हुने गरेको छ,’ उनले अनलाइनखबरसँग भने ।

नोट छपाइमा हुने ठूलो लागत र त्यसको लागि देशबाट बाहिरिने विदेशी मुद्रा ठूलो हुने भएकाले पनि नोटको जतन कति जरुरी छ भन्ने देखिन्छ ।

हरेक वर्ष चाडपर्वमा बजारमा पठाइने नयाँ नोट पूजा गर्दा रङको प्रयोग हुनुका साथै पानीमा भिज्जे भएकाले चाँडै झात्रा हुने गर्छ ।

माछामासु पलसमा मासु काटेको हातले पैसाको कारोबार गर्ने, यातायातका साधनमा भाडा उठाउँदा नोटलाई खुम्च्याउने जस्ता कारण पनि नोट चाँडै झुत्रा हुने गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बताउँछन् ।

उनले भने, ‘नोटको प्रयोगमा केही सुधार भएको छ । चाडपर्वमा नोटमा पूजा गर्ने कार्यमा सुधार भएको देखिन्छ ।’

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार नेपालमा ठुला नोट (रु. ५०० र १०००) को आयु ४ वर्ष हाराहारी हुने गरेको छ । औपचारिक अध्ययन नभए पनि साना दरको नोटको औसत आयु भने दुईदेखि साढे २ वर्षमात्र हुन्छ ।

नोटको जतन गर्नको लागि जनचेतना जगाउने काम गरिहरेको मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले बताए ।

पछिल्लो समय डिजिटल कारोबार बढ्दो छ । तर चाडपर्वहरुमा डिजिटल दक्षिणा प्रभावकारी देखिएको छैन । ‘चाडवार्डमा डिजिटल दक्षिणका लागि सामाजिक र सांस्कृतिक समस्या छ । चाडवार्डको दक्षिणा डिजिटल भन्दा अहिले पनि मन खिन्न बनाउने प्रचलन कायम छ,’ उनले भनेका छन्, ‘हाम्रो चलि आएको सामाजिक र सांस्कृति कल्चर परिर्वनको लागि नयाँ पुस्ता आएपछि मात्रै सहज होला ।’

कति लाग्छ नोट छपाइको लागत ?

नयाँ नोट छपाइको लागि नोटको दर अनुसार फरक-फरक शुल्क लाग्ने गरेको छ । सबभन्दा बढी छपाई शुल्क ५०० दरका नोट छपाउन लाग्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालले बताए ।

उनका अनुसार ५०० दरको नोट छपाउन प्रतिनोट औसतमा ६ रुपैयाँ ६८ पैसा शुल्क लाग्ने गरेको छ । यस्तै १ हजार दरका नोटको छपाई शुल्क भने प्रतिवटा औसतमा ३ रुपैयाँ ३७ पैसा लाग्ने उनले बताए । ‘५०० रुपैयाँ दरको नोटमा अतिरिक्त सुरक्षा विशेषताका कारण छपाइ खर्च बढी लाग्छ’ उनले अनलाइनखबरसँग भने, ‘नोटमा जति सुरक्षा विशेषता थप हुन्छ छपाइ खर्च पनि बढी लाग्छ ।’

१० रुपैयाँ दरका नोट छपाईमा सबभन्दा कम १ रुपैयाँ ४० पैसा खर्च हुन्छ भने ५ रुपैयाँ दरको नोटमा एउटाको छपाई खर्च औसतमा १ रुपैयाँ ६८ पैसा खर्च हुन्छ । यस्तै २० रुपैयाँ दरको नोट छपाइमा प्रतिवटा १ रुपैयाँ ७३ पैसा, ५० रुपैयाँ दरको नाटे छपाईमा २ रुपैयाँ ६७ पैसा र १०० रुपैयाँ दरको नोट छपाईमा २ रुपैयाँ ९९ पैसा लाग्छ लागत लाग्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले बताए ।

नोटमा विगार्दा के हुन्छ ?

राष्ट्र बैंकले १२ वैशाख २०७३ मा सफा नोट नीति २०७३ जारी गरेको थियो । बैंकहरूलाई एटीएम लगायतका मेशिनहरुमा प्रयोग योग्य, काउन्टरबाट भुक्तानी दिन योग्य र चलनचल्तीमा पठाउन अयोग्य भनेर छुट्याउन भनेको छ । साथै नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन ।

झुत्रिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, कीराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, सुरक्षणहरू नबुझिने भएको, राजाको चित्र अंकित भएको आदि नोटहरूलाई भने पुनः निष्काशन अयोग्य नोटको रूपमा गणना गर्नुपर्ने व्यवस्था छ ।

नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नोटमा केरमेट तथा विगोर्ने काय गरे कारबाही हुने कानुनी व्यवस्था छ । ‘नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानि-नोक्सानी पुर्‍याएमा तीन महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ,’ मुलुकी अपराध (संहिता) ऐनको दफा २६३ मा भनिएको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?