
१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर थुप्रिने बहाना देखाएर बन्द भएको खुलामञ्च अहिलेसम्म खुल्न सकेको छैन । असोज ८ गते न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीलाई रोक लगाएर खुुलामञ्चमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ गराइरहेको छ । तर खुलामञ्च घाम ताप्ने, टहलिने, शहरको खुल्ला चौरको रुपमा भने अझै खुलेको छैन ।
ट्राफिक कार्यालयले यात्रुवाहक, मालबाहक तथा निजी चारपांग्रे सवारी असोज १६ गतेसम्म कायम रहने गरी खुलामञ्चलाई सवारी पार्किङ थलोको रुपमा प्रयोग गरिरहेको छ । फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको कार्यालयले जारी गरेको सूचनामा छ ।
महानगरको मातहत पर्ने खुलामञ्च १५ वैशाख, २०७८ मा सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाउँदै बन्द गराएको थियो । त्यसपछि महानगरले मूल ढोकामा लागेको ताल्चा असोज ८ गते न्यूरोडको सवारी पार्किङको लागि मात्रै खुलाएको थियो ।
५ हजार सवारीको बेसमेन्ट पार्किङ गराउने लक्ष्य
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारी गरेको छ । तर खुलामञ्चमा महानगरले चौरमै पार्किङ लामो समय नगराउने आन्तरिक तयारी गरेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जानकारी दिएको छ ।
मेयर बालेनको सचिवालय सदस्य सनिल लम्सालका अनुसार बजेटमै उल्लेख भएको बुँदा अनुसार महानगरले खुलामञ्चमा तीन तल्ला अन्डरग्राउण्ड पार्किङ गराउने गरी ‘सार्वजनिक–निजी–साझेदारी’अवधारणामा संरचना निर्माण गरिँदैछ । पीपीपी मोडलमा ठेक्का खोल्न महानगरले केही नीतिगत व्यवस्था समेत सच्याउने भएको छ । ‘अघिल्लो ठेक्काहरुमा नीतिगत त्रुटी हुँदा कतिपय कामहरु अलपत्र परेका छन् । यो पटक केही सुधार गरेर ठेक्का आह्वान गर्छौं,’ बालेनका सचिवालय सदस्य लम्सालले भने ।
महानगरको बजेटको बुँदा नम्बर १ सय ११ मा बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका वडा नं ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङ्ग सहितको भूमिगत पार्किङ्गका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।
‘हामीले ५ हजार सवारी साधन अट्ने गरी बेसमेन्ट पार्किङको लागि अध्ययन गरिरहेका छौं । बजेटमै आइसकेकोले महानगरले आन्तरिक तयारी गरिरहेका छौं । खुलामञ्चको चौर नबिग्रने गरी संरचना तयार हुन्छ,’ लम्सालले भने, ‘चौरमा पानी रिचार्ज पोखरी निर्माण हुन्छ । खुलामञ्चमा आकाशबाट बगेको पानी बग्न नदिने योजना सहित हामीले काम सुरु गर्छौं ।’
राजनीतिक कार्यक्रमको थलो अभाव
खुलामञ्च बन्द हुँदा काठमाडौं महानगरमा राजनीतिक कार्यक्रम गर्ने स्थानको अभाव छ । खुलामञ्च बन्दहुँदा ठूला राजनीतिक कार्यक्रम सडकका चोकहरुमा हुँदा महानगरको सवारी व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।
खुलामञ्च २०३६ सालको जनमत संग्रह घोषणासँगै राजनीतिक कार्यक्रम गर्ने थलो बनेको थियो । अहिले पनि माइतीघर मण्डला, प्रदर्शनीमार्गजस्ता अहिले उपयोग भइरहेका क्षेत्र साँघुरा र सडक भएकाले ठूला कार्यक्रमका लागि खुलामञ्च काठमाडौंमा निर्विकल्प छ ।
कुनै समय काठमाडौंको खुलामञ्च राजनीति गर्नेहरुका लागि ‘उर्बरभूमि’ नै थियो । २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा विशाल सभा आयोजना गराएका थिए । त्यो सभाबाट उनले जनमत संग्रहमा बहुदलका पक्षमा बहुमत आउने भन्दै पञ्चायती सरकारलाई दीर्घकालीन महत्वका निर्णयहरु नलिन र त्यसो भएमा बहुदल आएपछि बन्ने सरकारले बोक्न नसक्ने बताएका थिए ।
बीपीले भने जस्तो २०३६ सालको जनमत संग्रह बहुदल पक्षले त जितेन तर, खुलामञ्चमा राजनीतिक कार्यक्रमहरु गर्ने क्रम भने सुरु भयो । ०४६ सालको परिवर्तनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरुले पनि खुलामञ्चमा उभिएर भाषण गरे । २०६२÷६३ को दोस्रो जनआन्दोलनमा जनताको जित भएको घोषणा पनि यही खुलामञ्चबाट भएको थियो ।
बाह्रबुँदे सम्झौतापछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र मधेश आन्दोलनबाट उदाएका मधेश केन्द्रित दलहरुले पनि पटक–पटक यही खुलामञ्च रोजेका थिए । संविधान निर्माणका क्रममा सानो वा ठूलो हरेक विचार समूह वा दललाई आफ्नो आवाज सुनाउने मञ्च बनेको थियो । तर, अहिले खुलामञ्च कुनै दलका कार्यक्रमका लागि खुला छैन ।
प्रतिक्रिया 4