
१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैंको अवसरमा विश्वभर रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गरेकी छन् । दशैंको शुभकामना सन्देश जारी गर्दै उनले उक्त कामना गरेकी हुन् ।
उनले दशैं पर्वबाट न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणमा उत्साह, उमंगका साथ क्रियाशील रहन दशैं प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।
दशैं जस्ता चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सदभाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास पनि उनले लिएकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दशैंको शुभकामना सन्देश दिंदै सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।
दशैं, तिहार, नेपाल संवत् र छठ जस्ता महत्वपूर्ण चाडपर्व लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको भन्दै उनले निर्वाचनमा सहभागिता जनाउन र सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया 4