
२१ असोज, धनगढी । नेपाली कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट अगामी मंसिर ४ मा हुने चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । निर्वाचन आयोगले आइतबार (पर्सि) उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाले ओझाले उम्मेदवारी दिने विषयमा निकटस्थहरुसँग छलफल थालेका छन् ।
धनगढीस्थित रुवस होटलमा ओझा अहिले अगामी निर्वाचनमा उम्मेदवारी दिने भएकाले निकटस्थहरुसँग छलफलमा छन् । उनले कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । ‘पुष्कर दाइले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने कुरा करिब तय भइसकेको छ,’ ओझा निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रतिनिधिसभामा एकल उम्मेदवारी दिने कि प्रदेशसभामा समेत उम्मेदवार बनाउने भन्ने विषयमा शुभचिन्तकहरुसँग सुझाव राख्न छलफल गरिरहनुभएको हो ।’
ओझाले छलफलमा आउने सुझावका आधारमा आवश्यक निर्णय लिएर शुक्रबार साँझसम्म पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि ओझा टिकटको आकांक्षी थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् । उक्त चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले ओझालाई क्रियाशील सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।
यसपटक पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली-५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने संकेत देखेपछि समानुपातिक रोजेकी छन् । आरजु समानुपातिक सूचीमा परेपछि कांग्रेसले ओझा माथिको कारवाही फुकुवा गरेर कैलाली-५ मा टिकट दिने चर्चा चलेको थियो ।
यद्यपि केही नेताहरुले भने देउवाले सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेको दाबी गर्दै आएका छन् । त्यसैले ओझाको सम्भावना नरहेको दाबी ती नेताहरुको छ ।
प्रदेशसभा ‘ख’ तर्फ भने आरजुका स्वकीय सचिवसमेत रहेका भतिजा प्रकाश देउवालाई उम्मेदवार बनाउने तयारी भइरहेको स्रोतको दाबी छ ।
प्रतिक्रिया 4