
२१ असोज, काठमाडौं । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा मात्रै करिब १९ अर्ब रुपैयाँ खर्च गरेको छ ।
बजेट वक्तव्यअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर २०७५ बाट विभिन्न सात प्रकारका कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने निर्णय गरेको थियो ।
नेपाल राष्ट्र बैंकले त्यसैअनुसार सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयनमा ल्याएको थियो । पछि त्यसलाई संशोधन गर्दै विभिन्न १० शीर्षकमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्यो ।
उक्त सहुलियतपुर्ण कर्जाको लागि साउन २०७९ सम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उक्त कार्यविधि अनुसार साउन २०७९ सम्ममा १ लाख ४७ हजार २३ ऋणीलाई २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
जसमध्ये २ खर्ब १३ अर्ब ६६ करोड ४३ लाख ५७ रुपैयाँ बराबरको लगानी बक्यौता बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4