+
+

जसपा एमालेतिर लाग्दा कहाँ-कहाँ बिग्रिन्छ सत्ता गठबन्धनको हिसाब ? (सूचीसहित)

जसपालाई आफूतिर ल्याउँदा एमालेले गठबन्धन फुटाउने मात्र होइन, चुनावी अंकगणितमा समेत राम्रै लाभ पाउने देखिन्छ । स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा हेर्दा पाँचदलीय गठबन्धनसँग एक्लै लड्दा एमाले देशभरमा केवल ९ सिटमा अगाडि देखिन्छ । राप्रपा थपिँदा यो अग्रता १७ मा पुग्थ्यो । जसपा पनि जोडिँदा यो सिट संख्या ४९ पुग्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १४:४९

२१ असोज, काठमाडौं । नेकपा एमाले सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)लाई मागेअनुसार सिट दिएर आफूतिर तान्ने प्रयासमा जुटेको छ ।

एमाले नेताहरूका अनुसार केही घण्टाभित्रै सहमति हुनसक्छ । त्यसो भएमा सत्ता गठबन्धनमा चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहने छ भने एमाले नेतृत्वको गठबन्धनमा जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ ।

जसपालाई आफूतिर ल्याउँदा एमालेले गठबन्धन फुटाउने मात्र होइन, चुनावी अंकगणितमा समेत राम्रै लाभ पाउने देखिन्छ । स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा हेर्दा पाँचदलीय गठबन्धनसँग एकल रूपमा लड्दा एमाले देशभरका १६५ क्षेत्रमध्ये जम्मा ९ सिटमा अगाडि देखिन्छ ।

राप्रपा थपिँदा यो अग्रता १७ मा पुग्थ्यो । जसपा पनि जोडिँदा यो सिट संख्या ४९ पुग्छ । सत्ता गठबन्धन ११५ र नेपाल मजदुर किसान पार्टी एक सिटमा अगाडि देखिन्छ । ५ प्रतिशतभन्दा कम मतान्तर भएको क्षेत्र ५१ हुनेछ, जसमा कुनै पनि पक्षले जित्ने सम्भावना हुन्छ ।

मधेसमा लाभैलाभ

जसपालाई आफ्नो गठबन्धनमा ल्याउँदा एमालेलाई सबभन्दा ठूलो लाभ मधेस प्रदेशमा हुनेछ ।

गठबन्धनसँग एकल रूपमा लड्दा मधेस प्रदेशका ८ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा एमाले पछाडि पर्छ । राप्रपा थपिँदा मधेसको गणितमा ठूलो फरक पर्दैन । यद्यपि एमालेले पछिल्लो समय मधेसमा आक्रामक रूपमा पार्टी प्रवेश अभियान चलाएको छ । यसले केही क्षेत्रको गणित फेरबदल गरेको छ ।

जसपा र राप्रपालाई साथमा लिन सक्दा एमाले गठबन्धनले स्थानीय चुनावकै मतका आधारमा ११ क्षेत्रमा अगाडि हुनेछ । सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र ३, सिराहाको १, २ र ४, महोत्तरीको ३, बाराको २ र ३ तथा पर्साको १, २, ३ र ४ मा एमाले गठबन्धन अगाडि हुनेछ ।

अरु प्रदेशमा पनि फेरबदल हुनेछ गणित

एमालेले जसपा र राप्रपासँग तालमेल गर्दा प्रदेश १ को झापा, मोरङ, सुनसरीमा लाभ उठाउनेछ । झापामा जसपाभन्दा राप्रपाले एमालेलाई धेरै मद्दत गर्छ । एमाले र राप्रपा मिल्नासाथ पाँचवटै क्षेत्रमा सत्ता गठबन्धन पछाडि पर्नेछ ।

जसपा थपिँदा मोरङको २ र ४ तथा सुनसरीको २, ३, ४ क्षेत्रमा एमाले गठबन्धन अगाडि हुनेछ । प्रदेश १ कै ताप्लेजुङ र धनकुटामा पनि यो गठबन्धन हावी हुनेछ ।

बाग्मती प्रदेशको काठमाडौंको ४ र ९, ललितपुरको १, चितवनको २ मा सत्ता गठबन्धनभन्दा एमाले गठबन्धन अगाडि हुनेछ । गण्डकी प्रदेशको म्याग्दी, कास्कीको ३, तनहुँको १ र स्याङ्जा तथा लुम्बिनी प्रदेशको पाल्पा नवलपरासी पश्चिम, रूपन्देहीको १, २, ४ र ५, कपिलवस्तुको १, २ र ३, दाङ १ र बाँके ३ मा पनि एमाले गठबन्धन अगाडि हुने स्थानीय चुनावको मतले देखाउँछ ।

एमाले नेताहरू पनि राप्रपा र जसपासँग गठबन्धन गर्दा मधेस प्रदेशमा जसपा र देशभरमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?