+
+

जेलमै छन् नोबल शान्ति पुरस्कार पाउने एलेस, तत्काल रिहा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १६:५५

२१ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका एलेस बियालियात्स्की अहिले पनि जेलमा छन् । बेलारुसमा भइरहेको मानव अधिकार विरोधी गतिविधि अन्त्य गर्न सक्रिय रहेका एलेस र उनको संस्थाले जेलमा राखिएका प्रर्दशनकारी र तिनका परिवारलाई सहयोग गर्दै आएको थियो ।

राजनीतिक कारणले बन्दी बनाइएकाहरूलाई सहयोग गर्दै आएका एलेसलाई नोबेल पुरस्कार समितिले प्रजातन्त्र र शान्ति विकासका लागि आफ्नो जीवन अर्पण गरेका व्यक्तिका रुपमा अर्थ्याएको छ ।

उनलाई यस अगाडि पनि तीन वर्ष जेलमा राखिएको थियो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको अप्रजातान्त्रिक कदम विरुद्ध निरन्तर बोलिरहेका एलेस अहिले पनि जेलमा छन् । लुकासेन्को सन् १९९४ देखि निरन्तर सत्तामा छन् ।

बेलारुस सरकारले एलेसलाई अदालतमा पेश नगरिकनै जेलमा राखेको छ । उनलाई कर छलीको आरोपमा जेलमा राखिएपनि सुनुवाई भने गरिएको छैन । राजनीतिक प्रतिशोध साँध्न बेलारुस सरकारले उनलाई जेलमा राखेको बताइन्छ ।

लुकासेन्कोको शासन सुरु भएदेखि बेलारुसमा मानव अधिकारकर्मी, पत्रकार र नागरिक समाजमाथि निरन्तर दमन हुँदै आएको छ ।

१४ जुलाई २०२१ मा उनलाई जेलमा राखिएको थियो । ६० वर्षीय एलिस सन् १९८० देखि नै बेलारुसमा मानव अधिकार र लोकतन्त्रको वकालत गरिरहेका छन् ।

उनको संस्था ‘भियास्ना’ले रुसले युक्रेनमाथि हमला गरेपछि रुसी सैन्य अपराधको सिकार भएका युक्रेनी नागरिकको लागत राख्न थालेको थियो । बेलारुसले युक्रेनमाथि रुसको आक्रमणलाई  समर्थन गर्दै आएको छ । रुसी कदमको समर्थन गर्ने बेलारुस एक मात्र युरोपियन देश हो ।

एलेसलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइएको घोषणा गर्दै नोबेल पुरस्कार समितिले उनलाई तुरुन्तै रिहा गर्न समेत आग्रह गरेको छ ।

एलेससँगै रुसी मानवअधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानवअधिकार संगठन ‘सेन्टर फर सिभिल लिबर्टिज’ले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् ।

नोबेल पुरस्कार समितिले पुरस्कार बिजेता व्यक्ति तथा संस्थाहरूले शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्व प्रदर्शन गरेकोले पुरस्कार प्रदान गरिएको उल्लेख गरेको छ । सत्ताको आलोचना गर्ने र नागरिकको मौलिक अधिकारको रक्षा गर्न उनीहरूले भूमिका खेलेको समितिको ठहर छ ।

युद्ध अपराध, मानवअधिकार हनन र शक्तिको दुरुपयोगका घटनाहरूको अभिलेखीकरण गर्ने प्रयासका लागि नोबेल समितिले उनीहरूको प्रसंशा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?