
यस वर्षको दशैं बिदा हुँदोछ । तर घरमा मासु अझैं सिद्धिइसकेको छैन । उसो त, पानी परेको दशैं, खानु र सुत्नु बाहेकको खासै काम पनि छैन ।
विजया दशमीको दिन छाता ओढी ओढी टिका लगाएर एउटा खास्सा राम्रो देखिएको फोटो खिचेर प्रेमिकालाई के पठाएको थिएँ,उताबाट रिप्लाई आयो, ‘छ्या कत्रो भुँडी, अलि घटाउने काम गर ।’
हृदयमा बिझ्नेगरी जवाफ फर्कियो । सायद त्यसलाई आदेश कै रूपमा मैले शिरोपर गर्नुपर्ने भयो ।
घरमा बल्लतल्ल दशैंमा आएको छोरालाई उसको हालखबर सोध्नुको साट्टो बाआमाले अर्कै कुरा सोधे, ‘बाबु भुँडी अलि ठूलो भयो,अलि घटाउने कोसिस गर्नु । जवानीमा नै यत्रो भुँडी राम्रो हुँदैन ।’
कतै घुम्न जाँदा यस्सो पोज दिएको फोटो फेसबुकमा हाल्यो, साथीभाइ कमेन्ट गरिहाल्छन्, ‘भुँडी देखियो भुँडी देखियो ।’
दिदीहरूको त कुरै नगरौं, नाचेको भिडियोमा पनि नाचको शैलीभन्दा टिसर्टभित्र हल्का देखिएको भुँडीकै चर्चा बढी गर्छन् ।
भुँडीले भएको योग्यता त गिराउने काम गर्या छ नै, त्यसमाथि खिसीट्युरीको अवसर पनि प्रदान गरेको छ । कहिलेकाँही त यसरी लडाइदिन्छ कि शरम र आत्मनिन्दाको भावले उठ्न नै सकिंदैन ।
उपहास र अवहेलनाको पात्र मात्र बनिन्छ कि जस्तो लाग्ने । मानव ज्यानको स्वभाव नै हो भनेर कसैले सहानुभूति राख्दैनन् ।
तर यति विधि दयनीय पात्र बन्दा समेत आफूलाई भने आफ्नो बढेको भुँडीको समर्थन नै गर्न मन लाग्ने रहेछ । आफूले आफैंलाई भुँडी अलि बढ्दा हुने फाइदाहरू सम्झी सम्झी उपाधी नै दिन मन लाग्छ रहेछ ।
मानिसहरू सभ्यताको पछि पछि भागिरहन्छन् । तर एक हदसम्म सभ्यताको मानक वा चिनारी भनेको भुँडी पनि हो । अलिकति खाइलाग्दो ज्यान भएको मान्छेलाई परिपक्व र स्वीकार गर्न सक्ने भनेर मान्छ समाजले । हिंड्दाखेरि नै हावाले उडाउने जस्तोलाई त कहाँ मान्छे गन्छ र यो समाजले !

अलिकति पुट्ट निस्केको भुँडी पनि योग्यताको मापदण्डमा पर्छ भन्नलाई किन पछि पर्नु ? होला नहोला तर दुब्लो ख्याउटे शरीर देख्ने बित्तिकै- भाइ तिम्ले गाँजा,चुरोट खान्छौ हो ? भनेर सोध्ने चलन पनि छ यही समाजमा । यति विधि ख्याउटे भएर आत्मपतन हुनभन्दा पनि अलि धर्म कै कुरा गरेर भए नि धर्तीका लागि अलि कति बोझ हुन बेस ।
कसैको हास्यरस नै उद्घाटन हुनेगरी, जोडी बन्दा उपहास नै हुने गरी, हिंड्नै असजिलो हुने गरी, बस्नै असहज हुने गरी मोटाउनु पनि राम्रो होइन तर हेर्दा सामान्य नै लाग्ने तर दुब्लाहरू भन्दा असामान्य हुनेगरी मोटाउनु पनि कला नै हो भन्छ मेरो एक मनले ।
तर जति नै तारिफ गरे पनि आफ्नो पेशा चिकित्सा नै भएकाले भुँडी नै रोगको भण्डार हो भन्नलाई भने म छुटाउँदिनँ । अनि प्रेमिकाको कुरालाई नमान्ने छुट पनि मलाई छैन । त्यसैले ढिलो चाँडो यो भुँडी त घटाउनु नै छ ।
हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालले ‘जय भुँडी’ निबन्ध मार्फत समाजमा रहेका भ्रष्टाचारी, शोषक प्रवृत्ति भएका मानिसहरूप्रति व्यङ्ग्य गरेका छन् । अर्थात् मानिस भुँडीका लागि सबथोक गरिरहेछ वा सबथोक गर्न तयार हुन्छ, पद र प्रतिष्ठा प्राप्त गरेको व्यक्तिले पनि त भुँडीका लागि भ्रष्टाचार गरिरहेको हुन्छ ।
अर्थात् निबन्ध कै अनुसार ठूला भुँडी हुनेहरूले साना भुँडी हुनेहरूको भाग खोसिरहेका छन् भनेर पनि बुझ्न सकिन्छ । ओहो, मोलतोलको तराजुमा ठूला भुँडी हुनेहरू त पीडक, शोषक जस्ता पो देखिंदारहेछन् त । यसरी सम्झँदा त भुँडी ठूलो हुँदासम्म बेक्कार बेवास्ता गरिएछ जस्तो लाग्छ ।
अनि फेरि हजुरबा हजुरआमाको कुरा सम्झिन्छु- ‘मान्छेले खान कै लागि दुःख गर्ने हुन्,आफ्नो गरेर खाँदा मोटाए पनि कसलाई के को डाहा र रिस ? टन्न खान पर्छ एकबारको जुनीमा । चोरेर कसैको खाछैन क्यारे ।’ अनि आफ्नै भुँडी सुमसुमाएर खुसी हुन्छु ।
तर अब वर्तमानमा त ओर्लिनै पर्छ । प्रेमिकाले भेट्ने बेलासम्म पनि भुँडी घटाइएन भने त लाजको पसारो नै हुन्छ नि । बाहिर निस्केको भद्दा पेट आफ्नै मनपर्ने मान्छेको हुँदा प्रेमिकाको मन पनि कति अमिलो हुँदो हो ?
धेरै पढिएको छ र अरुलाई पनि सिकाइएको छ- यो भुँडी घटाउने विधि । तर आफ्नै पेट बढ्दा समेत अत्तोपत्तो छैन मलाई । मिठो मसिनो पाए भन्दैमा चाहिने भन्दा बढी खाएपछि र परिश्रम गर्न अल्छी गरेपछि यस्तै त हुने हो नि ।
अब दशैं पनि गइहाल्यो । शरीरलाई चाहिने कार्बोहाइड्रेट प्रोटिनहरू मिलाएर मात्र खानुपर्छ । पेटको एकभाग खाली हुने गरी मात्र खाएर हलुका महसुस गर्नुपर्छ ।
म कहाँ पेट घटाइदिनपर्यो भन्दै आउनेहरूको घुँइचो नै हुन्छ । म मात्र होइन धेरै चिकित्सकसँग यस्ता बिरामी पुग्छन् तर धेरै चिकित्सक नै पुट्ट भुँडी निकालेर सल्लाह दिइरहेका हुन्छन् । हत्तेरी !
प्रेमिका पनि चिकित्सा क्षेत्र कै परिन् । के के खाने ? के के नखाने ? लिस्ट नै पठाएकी छिन् । मलाई पनि थाहा नभएको त होइन तर कसैले आदेश दिंदा वा गाइड गर्दा छुट्टै मज्जा आउँदो रहेछ । कार्य फत्ते गर्न कर लाग्दो रहेछ ।
चिया, कफि, मैदाजन्य, चिल्लोमा तारेका, चिनीबाट बनेका कोल्डड्रिंक्सहरू खाँदै नखान प्रेमिकाको आदेश छ । रेशादार खानेकुरा, सागसब्जी, गहुँ, मकै, कोदो, फापर खानका लागि आदेश छ । बिहान सात बजेसम्म सुत्ने म, तर अब पाँच बजे नै उनले फोन गरेर उठाइदिने सम्झौता छ । सँगै योगाभ्यास गर्ने र ध्यानमा बस्ने सहमति भाको पनि छ।
एक महिनाभित्र आफू जस्तै फिट बनाउने विश्वासका साथ प्रेमिकाले मलाई दैनिक अभ्यासमा लगाएकी छन् । अल्छी केटाहरूलाई ऊर्जावान् र फिट प्रेमिका हुनुको फाइदा पनि ज्यादै हुनेरहेछ । माया हुन्छ साटासाट, भुँडी घट्छ रातारात ।
जब आधुनिकता आदत बन्छन्, मान्छेलाई गरिरहेको कुरा नै सजिलो लाग्छ । बिहान हिंड्न अल्छी गर्छ, नमिठो खाना खान मन लाग्दैन । अनि योग गर्नु त सजाय दिए जस्तो । तर फेरि फिट हुनुको सौन्दर्यसँग गाँसिदै गएपछि त आदत यसकै बन्छ ।
प्रेमिका र म चाँडै नै ट्रेकिङ जाने कुरा पनि छ । प्रेमका नियमावलीहरूले उनलाई अझ बाँध्नुछ । तर उनी छिटो छिटो हिंड्ने म ढिलो ढिलो हिंड्ने, हिंड्दा पनि उनको लय पक्रिन सकिनँ भने ? कहाँको मोहनी ? कहाँको मञ्जरी ?
गुलाफका लाल पत्रहरूमा सजाउन खिचिनेछन् हामी दुईको फोटो हिमाललाई पृष्ठभूमिमा राखेर । त्यतिबेला मैले भुँडीभित्र तान्न सासै रोक्न पर्यो भने वा सास रोक्दा रोक्दै पनि पुट्ट भुँडी देखियो भने त प्रेमिकाको ग्यालरीबाट नै डिलिट हुन्छ त्यो युगल जोडीको फोटो ।
त्यसैले त यहाँ स्वस्थ रहन मात्र होइन इन्द्रेणीले गिज्याउने ज्यान बनाउन छ । प्याक र मसलहरू होइन प्राकृतिक बनोटमा आफू उभिनुछ । कविताका छन्दहरूमा जस्तै मिलेर बहनुछ शीरदेखि पाउसम्म ।
मकै उछिट्टिए जस्तो पेट उछिट्टिंदा स्वास्थ्य, प्रेम र जीवन कै नियम, लय र तालहरू भताभुङ्ग हुन्छन् । म त प्रेमिकाको आदेशलाई चराको बोली जस्तै मानेर मनन गरिहाल्छु, तपाईं चाहिँ बरु के गर्नुहुन्छ ?
प्रतिक्रिया 4