
२२ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएपछि चितवन ३ मा माओवादी केन्द्रबाट को उम्मेदवार बन्ला भन्ने चासो छ ।
प्रचण्ड अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर यसपटक उनले गोरखा २ रोजेका छन् ।
सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डामा चितवन ३ माओवादीकै भागमा परेको छ । यो क्षेत्रमा माओवादीको सम्भावित उम्मेदवारको रुपमा तीन जनाको नाम चर्चामा छ । सूर्य सुवेदी (पथिक), ठाकुर ढकाल र निशा न्यौपाने सम्भावित उम्मेदवारहरु हुन् ।
सुवेदीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको स्वकीय सचिव भएर काम गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि थापाले एमाले रोज्दा सुवेदीले माओवादी रोजेका थिए ।
यसैगरी ठाकुर ढकाल माडीको पूर्व मेयर हुन् । उनी यसपटक पनि मेयरको आकांक्षी थिए तर उनले टिकट पाएनन् । माओवादी उम्मेदवार ऋषिराम काफ्ले एमाले उम्मेदवार तारा कुमारी काजी महतोसँग पराजित भएका थिए । ढकालले मेयरको टिकट नपाएको र उनी प्रचण्डसँग निकट पनि भएकाले प्रतिनिधि सभामा उनैलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।
निशा न्यौपाने माओवादीका शहीद दण्डपाणी न्यौपानेकी छोरी एवम् माओवादी चितवन जिल्ला संयोजक आरसी अधिकारीकी श्रीमती हुन् । न्यौपाने प्रचण्डको संसदीय सचिवालयमा स्वकीय सचिव थिइन् ।
माओवादी चितवन जिल्लाका एक नेताले सुवेदी, ढकाल र न्यौपानेको नाममा छलफल भइरहेको जानकारी दिए । ‘तीन जनाको नाममा छलफल चलिरहेको छ, सम्भवत आज टुंगो लाग्छ,’ ती नेताले भने ।
प्रतिक्रिया 4