
२२ असोज, धरान। जनता समाजवादी पार्टी (जसपा) लाई सुनसरी–१ दिइएपछि नेकपा एमालेका असन्तुष्ट नेताहरुले विद्रोहको तयारी गरेका छन् ।
असन्तुष्ट नेताहरुले शनिबार भेला गरेर पार्टी नेतृत्वसँग निर्णय सच्याउन आग्रह गरेका छन् ।
‘पार्टी नेतृत्वलाई आज राति १२ बजेभित्र निर्णय सच्याउन समय दिएका छौं । निर्णय नसच्चिए विद्रोह हुन्छ’, धरानका पूर्वमेयर मनोज मेयाङ्बोले भने । सुनसरी–१ बाट निवर्तमान सांसद जयकुमार राईको नाम एकल रुपमा सिफारिस भएको थियो ।
तर जसपासँग तालमेल गर्दा यो क्षेत्र जसपाको भागमा परेको छ । ‘हामीले सर्वसम्मत रुपमा जयकुमार राईको नाम पठाएको हो । तर नेतृत्वले बेइमानी गरेको छ’, मेयाङ्बोले भने ।
पार्टीले निर्णय नसच्याए बागी उम्मेदवारी दिने समेत भेलाले निर्णय गरेको छ । पूर्वमेयर मेयाङ्बोले नै बागी उम्मेदवारी दिने छन् । ‘मलाई सबैले समर्थन गर्छु भनिसक्नुभएको छ, आज राति १२ बजेसम्म पार्टीले निर्णय नसच्याए भोलि उम्मेदवारी दर्ता गर्छौ’ मेयाङ्बोले भने ।
प्रतिक्रिया 4