
२२ असोज, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयनपत्र पेश गर्न खुकुलो बनाइदिएको छ ।
केही दिनदेखिको वर्षाका कारण उत्पन्न परिस्थितिका कारण उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्न असहज हुन सक्ने भन्दै मनोनयनको समय सारिदिन आग्रह गरिरहेका छन् । तर आयोगले निर्वाचन कार्यतालिका हेरफेर नहुने तर आयोगले गर्न सक्ने सबै सहयोग गर्ने बताएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले उम्मेदवार हुन चाहनेलाई मनोनयन दर्ता गर्न पर्ने अप्ठेरो फुकाउन आयोग तयार रहेको बताए ।
उम्मेदवारले दलको आधिकारिक पत्र, वारेसनामा र मतदाता परिचयपत्रको निस्सा निर्वाचन आयोगमा बुझाए सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्थानान्तरण गरिदिने उनले जानकारी दिए ।
‘आयोगले राजनीतिक दलका उम्मेदवारहरुलाई आफ्नो स्रोत, साधन र जनशक्ति प्रयोग गरेर उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने विषयमा कुनै अपठेरो अवरोध आयो भने सहयोग गर्नेछ’ उनले भने, ‘दलको आधिकारिक पत्र, वारेसनामा र मतदाता परिचयपत्रको निस्सा तीनवटा कुरा अलिकति अप्ठेरो भयो भन्ने कुरा आएकाले त्यसलाई आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म स्थानान्तरण गरिदिने आवश्यक प्रबन्ध मिलाउनेछ ।’
यसका लागि आवश्यक प्रबन्ध गर्न सचिवालयलाई भनिसकेको प्रमुख आयुक्त थपलियाले बताए । उम्मेदवार हुन योग्यता पुगेका सबैलाई उम्मेदवार बन्न आयोगले सहयोग गर्ने उनले बताए ।
कानूनतः दलहरुले आफ्ना उम्मेदवारहरुलाई दिने मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ । कतिपय ठाउँमा यातायात अवरुद्ध भएका कारण मनोनयनपत्र सम्बन्धित जिल्लामा नपुग्ने भएपछि आयोगले निर्वाचन तालिका सार्नुभन्दा सहजीकरण गर्ने आश्वासन दिएको थियो ।
प्रतिक्रिया 4