
२२ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको सूचीमा पूर्वमन्त्री एकनाथ ढकाललाई प्राथमिकतामा राखेको छ । प्रतिनिधिसभा तर्फ एमालेले बुझाएको समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन् ।
यो क्लस्टरको पहिलो नम्बरमा भने स्थायी कमिटी सदस्य रघुजी पन्त छन् । ढकाल दोस्रो नम्बरमा भएकाले समानुपातिक सांसद बन्ने लगभग पक्का जस्तै छ । २०७४ मा पनि ढकाललाई एमालेले समानुपातिक सूचीमा राखेको थियो ।
तर त्यसबेला पाँचौं नम्बरमा ढकालको नाम रहेकाले सांसद बन्न पाएनन् । माओवादी केन्द्रसँग तालमेल गर्दा त्यसबेला प्रत्यक्षतर्फ एमालेले १६५ मध्ये ८० सिट जितेको थियो । प्रत्यक्षतर्फ धेरै पुरुष उम्मेदवार निर्वाचित भएकाले कम्तीमा ३३ प्रतिशत महिला सांसद पुर्याउन समानुपातिक पद्धतिबाट धेरै महिला निर्वाचित भएका थिए । त्यसैले खसआर्य पुरुषतर्फ एक जना मुकुन्द न्यौपाने मात्र समानुपातिक पद्धतिबाट सांसद भए ।
यसपटक भने एमालेले ढकाललाई लगभग सांसद बनाउने सुनिश्चितता सहित समानुपातिक बन्द सूचीमा राखेको छ । ढकाललाई समानुपातिक सूचीमा राख्न एमालेले आफ्ना नेता तथा कार्यकर्ताका लागि बनाएको मापदण्ड समेत पालना गरेको छैन ।
यसअघि समानुपातिक सूचीमा परेकाहरुलाई नदोहो¥याउने नीतिकै कारण एमालेका कयौ नेताले यसपटक समानुपातिक सूचीमा बस्न पाएका छैनन् । तर ढकालको हकमा भने एमालेले उक्त मापदण्ड पालना गरेन ।
जबकी ढकाल राष्ट्रिय राजनीतिमा विवादास्पद व्यक्ति हुन् । धर्म प्रचारक संस्थासँग संलग्न ढकालले एमालेकै नेताहरुलाई समेत विवादित बनाएका थिए । २०७५ को मंसिरमा राजधानी काठमाडौंमा आयोजित एक सम्मेलनमा नेताहरुलाई नै ‘होली वाइन’ खुुवाउने प्रबन्ध गरेको भन्दै उनको आलोचना भएको थियो ।
ढकालकै अग्रसरतामा भएको उक्त धर्म प्रचारक संस्थाको सम्मेलनमा भाग लिएको भनी कम्युनिष्ट नेताहरुको आलोचना भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले त उक्त धार्मिक संस्थाबाट एक लाख डलरको ‘लिडरसीप एण्ड गुड गभर्नेन्स’ अवार्डसमेत लिएका थिए ।
तर एमालेले भने ढकाललाई सधैं प्राथमिकतामा राख्दै आएको छ । आफ्नै नेतृत्वमा नेपाल परिवार दल खोलेर २०६४ र ०७० मा समानुपातिक सांसद भएका ढकाल एमालेले मन्त्री बनाएको थियो ।
तर ०७४ को चुनावमा ढकालको नेपाल परिवार दलले एमालेसँग सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरेका थिए । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि उनको दलले एमालेको सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।
प्रतिक्रिया 4