+
+

गठबन्धनबाट टिकट नपाउने भएपछि एमाले प्रवेश गरे एकवाल मियाँ

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असोज २२ गते १९:२९

२२ असोज, वीरगञ्ज । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा–४ तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित एकवाल मियाँ हाल लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य थिए ।

उनी पुनः पार्टीबाट टिकट लिएर चुनाव लड्न चाहान्थे । अचानक राष्ट्रिय राजनीतिले नयाँ मोड लियो । जनता समाजवादी पार्टी नेपाल कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट बाहिरियो । उसले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ ।

मियाँको दल लोसपा कांग्रेस नेतृत्वको गठबन्धनसँग जोडिन पुग्यो । कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा बारा–४ मा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ र यहाँबाट नेता कृष्णकुमार श्रेष्ठ (किसान) उम्मेदवार बन्ने लगभग पक्का छ ।

नयाँ समीकरणमा आफूले टिकट नपाउने सम्भावना देखेपछि पूर्वमन्त्रीसमेत रहेका मियाँले पार्टी परित्याग गरी शनिबार नेकपा एमाले प्रवेश गरे । लोसपाले २०७४ सालमा जितेको सिटलाई पनि जोगाउन नसकेपछि पार्टी परित्याग गरेको मियाँले अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

‘एक्लै लडौं भन्ने थियो, तर अन्तिम समयमा लोसपा पनि गठबन्धनमा जाने निर्णय भयोे । सिटिङ सिटलाई पनि म्यानेज गर्न सकेन, किसानजीलाई नै उठाउनुपर्छ कुरा आयो’, उनले भने ‘मेरो राजनीतिक हत्या गर्न खोजियो । आफ्नो क्षेत्रमा बाँकी विकासका काम पूरा गर्न यो कदम चाल्नुपर्‍यो ।’

एमालेले आफूलाई नै टिकट दिने पक्का भएपछि प्रवेश गरेको उनको भनाइ छ । ‘प्रसौनी पोलिटेक्निकल कलेज छ त्यहाँ हजारौं विद्यार्थी पढ्न आउन भन्ने मेरो सोच छ, धेरै सडक योजनाहरु अलपत्र छन्’, मियाँले भने, ‘पोस्टमा नभएपछि जति नै चाहना भएपनि काम गर्न सकिन्न, टिकट नै नपाएपछि कसरी अधुरा काम पूरा गर्ने ? जनताको सेवालाई निरन्तरता दिन पार्टी परिवर्तन गर्नुपर्ने अवस्था आयो ।’

एमालेमा असन्तुष्टि

लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले चुनावको बेलामा नेताहरुले दल बदल्नु सामान्य कुरा भएको बताए । ‘चुनावको बेला छ, गठबन्धन हुँदैछ, साथीहरु आफनो सिट सुरक्षित गर्न लागि परेका छन्’, उनले भने ।

लोसपाका केन्द्रीय सदस्य एवं बारा–४ का अध्यक्ष सीताराम गुप्ता पनि मियाँले पार्टी छाडेर गलत गरेको बताउँछन् । ‘तत्काल बेफाइदा भएपनि पछिका लागि फाइदा हुन सक्थ्यो । तर उहाँ (एकवाल मियाँ) को पहिलेदेखि नै एमालेमा जाने मनसाय थियो’ उनले भने ।

एमालेले बारा–४ मा उम्मेदवार तय गरेको छैन । तर पार्टीमा लामो समय योगदान गरेकालाई टिकट नदिई नवआगन्तुकलाई टिकट दिन लागेको भन्दै असन्तुष्टि सुरु भएको छ ।

एमालेबाट बारा– देवनारायण थारुको एकल नाम सिफारिस गरिएको थियो । उनलाई नदिई मियाँलाई टिकट दिए पार्टीमा एकखाले विद्रोह नै हुन सक्ने स्थानीय नेताहरु बताउँछन् ।

मियाँले थारुसँग शनिबार विहान टेलिफोन संवाद गरी आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘बिहान उहाँले नै फोन गरेर तपाईंको टिकट खोसियो भन्नुभयो, पार्टीबाट आधिकारिक जानकारी त आएको छैन’ थारुले भने, ‘उनले टिकट पाउँछन् भने पार्टीका लागि दुर्भाग्य हो ।’

२०७४ सालको निर्वाचनमा मियाँले एमालेका देवनारायण थारुलाई नै पराजित गरेर सांसद निर्वाचित भएका थिए । मियाँले २२ हजार २७५ मत ल्याएर विजयी हुँदा थारुले २० हजार ६०७ मत पाएका थिए ।

एमाले प्रदेश कमिटी सदस्य मनोज पौडेलले अघिल्लो दिन पार्टी प्रवेश गरेर भोलिपल्ट चुनाव लड्ने कुरा कम्युनिष्ट पार्टीमा नसुहाउने बताउँछन् ।

‘चुनाव जितेको पाँच वर्षमा मियाँले यस क्षेत्रमा उल्लेख्य कुनै काम पनि गरेका छैनन्, जनताले चिनेका समेत छैनन्’, उनले भने ‘बिहान एक्लै आएर बेलुका टिकट लिएर भोलिपल्ट चुनाव लड्छु भनेर हुन्न, कार्यकर्तालाई सम्झाएर भोट दिलाउन सक्ने अवस्था छैन ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?