
२३ असोज, सुर्खेत । नेकपा एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई नेकपा (माओवादी केन्द्र)ले दैलेखमा टिकट दिने भएको छ । शनिबार बेलुका एमाले त्यागेका शाहीलाई माओवादीले दैलेख क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभामा चुनाव लडाउने भएको हो ।
काठमाडौंमा माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग शाहीको छलफल चलिरहेको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
माओवादीबाट सिफारिसमा परेका उपेन्द्रकुमार रावत ‘सुशील’ लाई ब्याक गराउने गरि माओवादी नेताहरु छलफलमा छन् । ‘क्षेत्र नं.–२ (ख) मा माओवादीको जनमत खासै राम्रो छैन् । तर भागबण्डा गर्दा त्यही प¥यो । त्यसैले त्यो क्षेत्रबाट योगेन्द्र जीलाई उठाउन लागिएको हो’ ती केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।
रावतले आफैं उम्मेदवार बन्ने र गठबन्धनबाट पनि सो क्षेत्र माओवादीले नै पाएकोले चुनाव प्रचार–प्रसारको तयारी गरिसकेका थिए । माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले पनि शाहीलाई नै उम्मेदवार बनाउने बारे छलफल चलिरहेको बताए । ‘छलफल चलिरहेको छ । सबै साथीहरुको राय, सुझावले लिने काम भै रहेको छ । अन्तिम निर्णय त केन्द्रबाटै आउला’ प्रदेशका इञ्चार्ज मल्लले भने ।
नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव तथा एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले शानिबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी घनश्याम भुसाल निकट मानिन्छन् ।
दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि एमालेबाट सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग गरेको र आफूले पनि टिकट नपाएको झोँकमा शाहीले पार्टी छाडेको एमाले नेताहरु बताउँछन् ।
प्रतिक्रिया 4