
२३ असोज, वीरगञ्ज । नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्ण चुनाव लड्ने भएका छन् । पर्सा क्षेत्र नं. ४ का निवर्तमान सांसद कर्ण गठबन्धनबाट पर्सा क्षेत्र नं १ मा चुनाव लड्न लागेका हुन् ।
कर्ण तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट पर्सा क्षेत्र नं ४ मा निर्वाचित भएका थिए । उनी २० हजार ७३८ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका नेता रमेश रिजालले १४ हजार ७०२ मत पाएर दोस्रो स्थानमा खुम्चिएका थिए ।
पार्टी सभापति एवं प्रधानमन्त्री देउवासँग निकट सम्बन्ध भएकोले रिजालले गठबन्धनबाट टिकट हात पार्न सफल भएको शेखर कोइराला पक्षको आरोप छ ।
रिजालले आफ्नो क्षेत्र नछोड्ने भएपछि गठबन्धनले पर्सा क्षेत्र नं. १ बाट उम्मेदवारका आकांक्षी रहेका शेखर कोइराला पक्षका अजय द्विवेदीको टिकट खोसेर लोसपालाई सुम्पिएको संस्थापन इतरको आरोप छ । द्विवेदी कांग्रेस पर्साका पूर्वसभापति हुन् ।
०७४ मा वीरगञ्ज महानगरपालिकाको मेयरमा लडेका अजय द्विवेदी तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार विजय कुमार सरावगीसँग पराजित भएका थिए । सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा उनले १७ हजार १९७ मत ल्याएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरमा उम्मदवारी दिन इच्छा राख्दै आए पनि गठबन्धन हुँदा उक्त पद जसपाले पाएको थियो ।
संघ तथा प्रदेशको निर्वाचनमा उनी जसरी पनि निर्वाचनमा होमिने मनस्थितिमा देखिन्थे । उनी नेकपा एमालेमा गएरै भएपनि चुनाव लड्ने चर्चा चलिरहेको थियो ।
टिकटका लागि काठमाडौं पुगेका द्विवेदी वीरगञ्ज फर्केलगत्तै स्वतन्त्र उम्मेदवारी दिनेगरी तयारी सुरु गरेका छन् ।
नेपाली काँग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री भने गठबन्धनबाट निर्णय भइसकेकोले पार्टीका कुनैपनि नेता कार्यकर्ताले त्यसलाई पालना गर्नुको विकल्प नभएको बताउँछन् ।
प्रतिक्रिया 4