
२३ असोज, मनाङ । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेलाई यसपटक पनि नेकपा एमालेले समर्थन गर्ने भएको छ । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट मनाङेले उम्मेदवारी दर्ता गराउँदैछन् ।
एमालेले उनलाई नै समर्थन गर्ने भएको छ । ‘उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेका छौं, अब केहीबेर हुन्छ’ एमाले नेता पाल्देन गुरुङले भने । पार्टीको निर्णय अनुसार नै प्रदेशसभा तर्फ मनाङेलाई समर्थन गर्न लागेको उनले बताए ।
०७४ को चुनावमा पनि मनाङेले एमालेको समर्थनमा नै चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन भएकाले माओवादी केन्द्रले पनि उनलाई नै मत दिएको थियो । मनाङे अहिले नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री छन् ।
पहिले उनी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री थिए । उनकै कारण एमाले नेतृत्वको सरकारले बहुमत गुमायो भने कांग्रेस नेतृत्वको सरकार बनेको थियो ।
फेरि तिनै मनाङेलाई एमालेले समर्थन गर्ने भएको छ । प्रतिनिधिसभामा भने एमालेबाट निवर्तमान सांसद पाल्देन गुरुङले उम्मेदवारी दिदैछन् । प्रदेशसभा (क) मा दोर्जे डुन्डुल गुरुङले टिकट पाएका छन् ।
प्रतिक्रिया 4