
२३ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् ।
भरतपुर अस्पतालको अध्यक्ष पदबाट राजीनामा दिएर डा. अधिकारीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । सोही क्षेत्रमा नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । चितवनको माडी घर भएका न्यौपाने यसअघि नेकपाकालमा भरतपुर महानगरपालिकाको अध्यक्ष थिए । विद्यार्थी राजनीतिबाट आएका उनी पहिलोपटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
एमालेसँग तालमेल कुरेर बसेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले आइतबार अबेर उम्मेदवारी दर्ता गराएका छन् । उनले अझै पनि समय भएकोले अन्य दलको समर्थन आफूलाई हुन सक्ने बताए ।
कांग्रेसबाट २ जनाको बागी उम्मेदवारी
चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चितवन-३ मा कांग्रेसले माओवादीलाई समर्थन गर्ने निर्णय गरेपछि कोइराला र पौडेलले उम्मेदवारी दर्ता गराए । पौडेलले गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको जरिवाना स्वरुप ७ लाख ५० हजार रुपैयाँ तिरेर उम्मेदवारी दर्ता गराए ।
प्रतिक्रिया 4