
२३ असोज, विराटनगर । सुनसरी– ३ मा तेस्रो पटक दुई थारु उम्मेदवार आमने सामने भएका छन् । नेपाली कांग्रेस नेता विजयकुमार गच्छदार र नेकपा एमालेका नेता भगवती चौधरी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसअघिका दुई निर्वाचनमा कांग्रेस नेता गच्छदारले बाजी मारे । दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए ।
२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा आफैं अध्यक्ष रहेको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव उठेका उनले भगवती चौधरीलाई ३६२ मतअन्तरले पराजित गरेका थिए । २०७४ को चुनावमा मनान्तर घटेको छ । २०७४ सालको निर्वाचनमा भने उनीहरुको मतान्तर ३२१ रह्यो । गच्छदारले ३८ हजार ९७२ मत पाएका थिए भने चौधरीले ३८ हजार ६५१ मत पाइन् ।
तेस्रो पटकसम्मको प्रतिस्पर्धामा आइपुग्दा गच्छदार र चौधरीको अवस्था फरक छ । चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी छन् भने भ्रष्टाचार मुद्दाका आरोपी गच्छदारको राजनीतिक कद क्रमश घट्दो छ । २०७४ सालमा चौधरीलाई सहयोग गरेको नेकपा माओवादी केन्द्रले यो पटक गच्छदारलाई सहयोेग गरेको छ ।
राष्ट्रियस्तरको नेता र पटक पटक मन्त्री भइरहेका गच्छदारसँग पहिलो पटक प्रतिस्पर्धा गर्दा भगवती चौधरी एमालेको जिल्ला स्तरको नेता थिइन् । हाल उनी केन्द्रीय सदस्य भइसकेकी छन् । तर गच्छदार भने कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भए ।
सातौं पटक चुनावी मैदानमा उत्रिएका उनीमाथि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा भ्रष्टाचार गरेको आरोप छ ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका उनी लामो समय ‘फरार’ रहे । मुद्दा दायर भएपछि भूमिगत भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएलगतै विशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा छुटेका थिए ।
२०७४ को मतगणनामा गच्छदारमाथि धाँधली गरेर जितेको भन्दै चौधरीले पुन मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिन् । तर रिट विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभाको कार्यकाल सकियो ।
अदालतले न्याय नदिएपनि यो पटक जनताले आफूलाई न्याय गर्ने चौधरी बताउँछिन् । ‘मतगणनामा धाँधली भएपछि न्याय माग्न सर्वोच्च पुगेकी थिएँ, तर अझै मुद्दाको फैसला भएन’, चौधरी भन्छिन्, ‘अब जनताको घरमा जान्छु, जनताले न्याय गर्नेछन् ।’
२०४८ सालयता ६ वटै निर्वाचनमा अपराजित गच्छदार भने यो पटक पनि आफू चुनाव जित्ने बताउँछन् । गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचन तत्कालिन मधेशी जनअधिकार फोरमबाट जितेका उनले दोस्रो संविधानसभा निर्वाचनअघि आफ्नै नेतृत्वमा पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी खोले । २०७० को दोस्रो संविधानसभामा सोही पार्टीबाट जितेका उनले २०७४ मा भने कांग्रेस फर्किएर जितेका थिए ।
प्रतिक्रिया 4