+
+
ग्रिन हाइड्रोजन समिट :

हाइड्रोजनले ऊर्जा निर्यातको सम्भावना बढाउँछ : ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:१७

२४ असोज, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले हाइड्रोजन ऊर्जाको विकास गर्न सके नेपालले थप ऊर्जा निर्यात गर्न सक्ने बताएकी छिन् । काठमाडौंमा सोमबार एमआईटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको आयोजनामा सुरु भएको ग्रिन हाइड्रोजन समिटको उद्घाटन गर्दै मन्त्री भुसालले प्रविधिको विकासँगै आगामी दिनमा हामीले जलविद्युत आयोजनाहरुसँगै त्यही पानी प्रयोग गरी हाइड्रोजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने र हाइड्रोजनका रुपमा विद्युतलाई निर्यात गर्ने अवस्था सिर्जना हुने बताइन् ।

‘हाल विद्युत निर्यातका लागि छिमेकी देशको अनुमति साथै उचित क्षमताको प्रशारण लाइन आवश्यक हुन्छ । तर अहिले जसरी विश्वले हाइड्रोजन ऊर्जाको विषयमा प्राविधिक अध्ययन र प्रविधिको विकास गर्दै छ यसले भविष्यमा हाइड्रोजनका रुपमा विद्युत निर्यात गर्न सकिने सम्भावना देखिएको छ,’ उनले भनिन्,’तत्कालका लागि यस्तो प्रविधि आर्थिक रुपमा महङ्गो भए पनि भविष्यमा यसले प्रशारण लाइनको जटिलतालाई समेत समाधान गर्ने देखिन्छ । नेपाल यसका लागि तयार रहनुपर्छ ।’

नेपालले आफूसँग भएको जलस्रोतलाई अधिकतम प्रयोग गर्दै देशको विकास गर्ने, विद्युत र हरित हाइड्रोजनको माध्यमबाट छिमेकी मुलुक साथै विश्वको नवीकरणीय ऊर्जाको मागलाई केही हदसम्म योगदान दिन सक्ने अवसरलाई सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । ऊर्जाको आगामी भविष्यका रुपमा विश्वले प्राथमिकतामा राखेको हरित हाइड्रोजनसम्बन्धी हुन लागेको सम्मेलन हरित हाइड्रोजनसँग मात्र सम्बन्धित भएर यस तहमा गरिएको नेपालको पहिलो सम्मेलन भएको उनले बताइन् ।

‘हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको छ । विभिन्न विकसित मुलुकहरुले यसको उत्पादन र उपयोगको सम्बन्धमा नीति निर्माण गर्ने, प्रविधिको अनुसन्धान र अन्वेषण गर्ने, खपतको क्षेत्र निर्धारण गरी त्यसलाई अन्वेषण र विस्तार गर्ने कार्यमा केन्दि्रत गरेको अवस्थामा हाम्रो देशले पनि यस विषयमा छिट्टै नीति निर्माण गरी अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।

नेपालको प्रमुख प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन र महत्वपूर्ण रहेको मन्त्री भुसालको निष्कर्ष छ ।

किफायति, विश्वसनीय, भरपर्दो र हरित ऊर्जामा सबै जनताको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न जलविद्युत आयोजनाहरुको दिगो रुपमा विकास गरिनुपर्ने आवश्यकता रहेको भन्दै उनले नेपालमा उपलब्ध प्रचुर जलस्रोतको विकासबाट देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पुर्‍याइ विदेशी मुद्रा आर्जन गर्न सकिने बताइन् ।

जीवाष्म इन्धनको खपतबाट उत्पन्न पर्यावरणीय असर, जलवायु परिवर्तनलगायतका समस्याले मानव समुदाय र पृथ्वीकै अस्तित्वमा खतरा पैदा भइरहेकाले विश्व मानव समुदायको रक्षा गर्दै भावि सन्ततीलाई सुरक्षित भविष्य दिनका लागि दिगो विकास र ऊर्जाका रुपमा नवीकरणीय ऊर्जाको प्रयोग आजको अपरीहार्य आवश्यकता भएको मन्त्री भुसालको भनाइ थियो ।

‘हामीसँग रहेको जलस्रोतको अधिकतम प्रयोग गरी यस कार्यमा योगदान गर्ने अवसर हामीलाई छ,’ उनले भनिन्,’जलविद्युतको विकास गरी हामीले प्रयोग गर्ने सबै ऊर्जाका स्रोतका रुपमा जलविद्युतलाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने साथै जलविद्युतलाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य छ ।’

यसका लागि मन्त्रालयले आवश्यक तयारीसमेत गरेको उनले जानकारी दिइन् । उनका अनुसार मन्त्रालयले कार्यदल गठन गरी जलविद्युतको प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । हाइड्रोजन ऊर्जाको विकासको कार्य अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकण र कोरियोको ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटबीच समझदारी गरीएको उनले बताइन् ।

सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने, सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न एवं सबल अर्थतन्त्रको विकास गर्न कृषि, पर्यटन, औद्योगीकक्षेत्र सहित जलविद्युत आयोजनाहरुको तिब्रतर विकास हुनु आवश्यक रहेको भन्दै मन्त्री भुसालले त्यसैले सरकार औद्योगिकिकरण, विद्युतीय यातायात सञ्चालन, लिफ्टमार्फत खानेपानी र सिंचाइ, विद्युतीय सामग्रीको प्रयोग गरी सक्षम, सबल, उन्नत राष्ट्र बनाउन कार्ययोजना सहित लागेको उल्लेख गरिन् ।

गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवं वितरण लाइन तथा सब-स्टेसन निर्माणमा विशेष प्राथमिकता दिइएको जानकारी दिंदै उनले जलविद्युतको विकासका लागि सार्वजनिक-निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको जानकारी दिइन् ।

हालका वर्षहरुमा नेपालमा जलविद्युत् आयोजनाहरुको विकास सन्तोषजनक रुपमा अगाडि बढेको भन्दै उनले अहिलेको समयमा हामीले नेपालमा खपत भएर बढी भएको दैनिक करिब चार सय मेगावाटसम्म विद्युत निर्यात गरिरहेको बताइन् ।

‘दशैंको समयमा नेपालको आन्तरिक माग कम हुँदा केही विद्युत खेर जाने अवस्थासमेत सिर्जना भयो । वषर्ा याममा उत्पादित विद्युत खेर जाने र हिउँदको समयमा उत्पादन कम भई आयात गर्नुपर्ने अवस्था अझै केही समय रहने देखिन्छ,’ उनले भनिन्,’यस समस्यालाई समाधान गर्न हाइड्रोजन ऊर्जाको उत्पादन उपयुक्त विकल्प हो । हामीले हाइड्रोजन र युरिया मल उत्पादन गर्ने प्लान्टहरु स्थापना गरी तत्कालका लागि वषर्ामा खेर जाने विद्युतको खपत गर्न सक्छौं भने भविष्यमा नेपालमा उत्पादन हुने जलविद्युतको अधिकतम उपयोग गरी विद्युत निर्यातमा हुने समस्याको समाधान समेत गर्न सकिन्छ ।’

हाल विद्युत निर्यातका लागि छिमेकी देशको अनुमति साथै उचित क्षमताको प्रशारण लाइन आवश्यक हुने, तर अहिले जसरी विश्वले हाइड्रोजन ऊर्जाको विषयमा प्राविधिक अध्ययन र प्रविधिको विकास जाँदा भविष्यमा हाइड्रोजनका रुपमा विद्युत निर्यात गर्न सकिने सम्भावना देखिएको उनको भनाइ छ । नेपाल यसका लागि तयार रहनुपपर्ने मन्त्री भुसालले बताइन् ।

नेपालले आफूसँग भएको जलस्रोतलाई अधिकतम प्रयोग गर्दै देशको विकास गर्ने, विद्युत र हरित हाइड्रोजनको माध्यमबाट छिमेकी मुलुक साथै विश्वको नवीकरणीय ऊर्जाको मागलाई केही हदसम्म योगदान दिन सक्ने अवसरलाई सदुपयोग गर्नुपर्ने र यसका लागि हाइड्रोजन ऊर्जामा अध्ययन अनुसन्धान गरीरहेका मुलुकहरु, निजी क्षेत्रलगायत विभिन्न निकायसँग सहकार्य गर्नका लागि सरकारले नीतिगत बाटो खुला राख्नुपर्ने उनको मत छ । सोही अनुसार सरकार अगाडि बढेको उनले जानकारी दिइन् ।

‘हाइड्रोजनको व्यावसायिक प्रयोग विश्वमा नवीनतम प्रविधि भएकाले यसको उपलब्धता र व्यापार सहज भइसकेको छैन । आर्थिक रुपमा अन्य प्रविधिभन्दा केही महङ्गो पनि छ,’ उनले भनिन्,’यही कारण देखाई यसको भविष्यमाथि नजरअन्दाज गर्नु हुँदैन र यसको उपयोगमा ढिलाई गर्नु हुन्न । नेपालले हरित हाइड्रोजन ऊर्जाको विकासमा अग्रणी भूमिका निर्वाह गर्न सकिनेमा विश्वस्त छु ।’

सम्मेलनले जलविद्युतलाई हरित हाइड्रोजन ऊर्जामा परिणत गर्न र  नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै अख्तियार गर्नुपर्ने कदमहरूबारे छलफल गर्न महत्वपूर्ण मञ्चको रूपमा काम गर्ने उनको विश्वास छ ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सरोकारवालाहरूको यस महत्वपूर्ण भेलाले हरित हाइड्रोजन ऊर्जाको विकासका लागि अख्तियार गर्नुपर्ने विषयका बारेमा छलफल गरी महत्वपूर्ण सुझावहरु प्राप्त हुने उनको अपेक्षा छ ।

सम्मेलनबाट प्राप्त हुने सुझावहरु आगामी दिनमा हामीले अवलम्वन गर्ने नीति, निर्देशिका, कानूनलाई थप परिस्कृत गर्न उपयोगी हुने  मन्त्री भुसालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?