
२४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्ने सडक निरन्तर पानीले पखालेर सरसफाइ गरिरहेको छ ।
महानगरका अनुसार फोहोर फालेर फर्किंदा गाडीले सडकमा हिलो बनाउने र फोहोर बोकेर जाँदा लिचेड चुहिने भएकोले नियमित एउटा ट्याङ्करले पानी हालेर सफा गरिरहेको हो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालले सडक पखाल्नका लागि एउटा ट्यांकर सोही क्षेत्रमा राख्ने गरिएको बताए । करिब एक महिनादेखि सडकमा पानी हालेर पखाल्ने काम भइरहेको उनको भनाइ छ ।
‘सिसडोल र बञ्चरेडाँडा बीच भागमा पर्ने सडक खण्डमा स्थानीयलाई हिलोले सडकमा असर नहोस् र फोहोरको लिचेडले पनि असर नगरोस् भनेर दैनिक ९ हजार लिटर पानी छर्केर सफा गरिरहेका छौं’ लम्सालले भने ।
काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अहिले दैनिक २ सय ५० वटा फोहोर बोक्ने गाडी जाने गरेको महानगरको भनाइ छ ।
प्रतिक्रिया 4