२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदमार्फत राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिस क्लबको महिला टिमले विजयी सुरुवात गरेको छ ।
महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालमा क्रिकेट मैदानमा भएको खेलमा राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको पुलिसले कर्णाली प्रदेशलाई डीएल मेथडमा ६३ रनले पराजित गरेको हो ।
नवौं राष्ट्रियकै लागि पुलिसले राष्ट्रियस्तरको खेलाडीहरु समावेश गर्दै टिम निर्माण गरेको हो । वर्षाका कारण खेल १६ ओभरमा घटाइएको खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो ।
तर कर्णालीले १०.२ ओभरमा ७ विकेट गुमाएर १७ रन मात्र बनाउँदा पानी परेपछि खेल स्थगित भयो र फेरि सुरु हुन सकेन । कर्णालीले १०.२ ओभरमा डिएल मेथड अनुसार जितका लागि ८१ रन बनाउनुपर्ने थियो ।
कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका लागि दिक्षा पुरिले अविजित रहँदै ७ रन बनाइन् ।
कर्णालीलाई अलआउट गर्न पुलिसका बलरहरुले घातक बलिङ गरे । सबनम राई, संगिता राई, हिरन्माया रोय, ईश्वरी बिष्ट तथा कविता जोशीले १/१ विकेट लिए । कविता जोशीले ३ ओभर बलिङ गर्दा ३ मेडन नै राख्दै कुनै रन दिइनन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले १६ ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् ।
कविता कुँवर र काजल श्रेष्ठले १६-१६ तथा रेवती धामीले १४ रन बनाइन् । कर्णालीका अन्जु गुरुङले ३ तथा अन्जली क्षेत्री र बिना थापाले समान १ विकेट लिए ।
प्रतिक्रिया 4