
काठमाडौँ । नेपाली र बलिउड कलाकारलाई समावेश गरेर पूर्वोत्तर भारतीय राज्य सिक्किममा फिल्म निर्माण हुने भएको छ । जसमा बलिउड अभिनेता सुनिल सेट्टी र नेपाली अभिनेता विपिन कार्कीले समेत अभिनय गर्ने भएका छन् ।
सिक्किमस्थित मेकरकै निर्माण, निर्देशन र प्राविधिक संलग्नता रहने बताइएको यो फिल्म यतिबेला कास्टिङको प्रक्रियामा छ । निर्माताले विपिनसँग छलफल चलाएका छन् ।
निर्मातासँग मिटिङ गर्न अभिनेता कार्की शनिबार सिक्किमतर्फ प्रस्थान गरेका थिए, तर गान्तोकमा पहिरो खसेर सडक अवरुद्ध भएपछि उनी काठमाडौं फर्कने बाटोमा छन् ।
‘बलिउड र नेपाली कलाकारलाई समावेश गर्ने गरी फिल्म निर्माणको तयारी गरिएको रहेछ । मलाई पनि बोलाइएको थियो । गएको पनि थिएँ, तर पहिरोले रोकेपछि फर्किंदैछु,’ विपिनले अनलाइनखबरसँग भने ।
उनका अनुसार निर्माताले सुनिल सेट्टीसहितका केही बलिउड कलाकारसँग पनि छलफल चलाइरहेका छन् । ‘अहिले छलफलकै चरणमा छ । उतातिर सुनिल सेट्टीसँग पनि लबिङ भइरहेको जानकारी पाएँ,’ विपिनले भने ।
बुधबारदेखि विपिन ‘के घर के डेरा’को प्रचारप्रसारमा सहभागी हुनेछन् भने आगामी साता बलिउड फिल्म ‘एनिमल’को छायांकनका लागि मुम्बई जाने तयारीमा छन् ।
प्रतिक्रिया 4