
काठमाडौं । पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘महापुरुष’को ट्रेलरमा दर्शकलाई चाहिने सबथोक छ । माया, घृणा, संवेदना, हुटहुटी, रोमान्स र विद्रोह । ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरले दुई पुस्ताको प्रेमको मर्मस्पर्शी कथा पेस गर्छ ।
छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न कस्सिएको अधवैंशे पुरुषको कथा यसले भन्छ । पत्नी गुमाएको पुरुष पात्रको जीवनमा अधवैंशे महिलाको प्रवेशपछि आउने पारिवारिक उतारचढाव फिल्मको कथा हो ।
ट्रेलरको आकर्षक पक्ष के हो भने यसले कथा, चरित्र, द्वन्द्व, संवेदना र निष्कर्षलाई तीन मिनेटभित्र समेटिदिएको छ । फिल्मले प्रेमको जित हुने निष्कर्ष निकालेको छ ।
हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँले मुख्य चरित्रको भूमिका निर्वाह गरेका छन् । मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, सिरु विष्ट पनि प्रमुख भूमिकामा छन् । सिनेमा हलमा दशैंमै रिलिज भए पनि निर्माताले ट्रेलरलाई सोमबार मात्र इन्टरनेटमा सार्वजनिक गरेका हुन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री हुन् भने रविन्द्र कार्यकारी निर्माता हुन् । रविन्द्र र दीपेशको सहकार्यको फिल्म ‘डाकिनी’ प्रदर्शनको तयारीमा छ ।
मुलुकको पहिलो शून्य कार्बन उत्सर्जन फिल्म बताइएको ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4