
२४ असोज, काठमाडौं । दशैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २६ भदौबाट नयाँ नोट सटही सुविधासँगै बढ्न लागेको नगद सर्कुलेसन २३ असोजसम्म आउँदा ५७ अर्बले वृद्धि भएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।
२६ भदौ अगाडि ६ खर्ब ७ अर्ब रहेको नगद सर्कुलेसन २३ असोमा ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको उनले बताए ।
यस्तै दशैंका लागि साना र ठूला दरको ५० अर्बको नोट सटही गरेको केन्द्रीय बैंकले दशैंका लागि साना दरको (५ देखि १०० रुपैयाँ सम्मका) १५ अर्ब र ठूला दरको (५०० र १००० दरका) ३५ अर्बको नोट सहटी भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोख्रेलले बताए ।
दशैंमा १३ अर्ब निक्षेप घट्यो
दशैंमा बैंकिङ प्रणालीबाट १३ अर्ब भन्दा बढी निक्षेप बाहिरिएको छ । दशैंको अगाडि १३ असोजमा ५१ खर्ब २७ अर्ब ९६ करोड रहेकोमा २३ असोजमा ५१ खर्ब १४ अर्ब ८२ करोडमा झरेको पोख्रेलले बताए ।
दशैंमा औपचारिक क्षेत्रमा कार्यरत कर्मचारी साथै निजामति कर्मचारीले डबल पारिश्रमिक पाउने र सरकारको खर्च पनि पनि वृद्धि हुँदा बजारमा पैसा आउँछ । तर, चाडपर्व मनाउन शहरका नागरिक गाउँ जाँदा नगद होल्ड हुने भएकोले पनि दशैंमा केही निक्षेप बाहिरिने गरेको छ ।
सोही अवधिमा कर्जा पनि ३ अर्बले घटेको छ । १३ असोजमा ४७ खर्ब ३५ अर्ब रहेको कर्जा २३ असोजमा घटेर ४७ खर्ब ३२ अर्बमा झरेको छ । दशैंको अवधिमा कर्जा लगानी नभएको तर भुक्तानी नियमित हुँदा लगानीमा रहेको कर्जा घटेको हुनसक्ने उनले बताए ।
२३ असोमा बैंकिङ प्रणालीमा ३४ अर्ब ६५ करोड तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । तर, यस अवधिमा केन्द्रीय बैंकबाट बैंकहरुले ७८ अर्ब ३ करोड ५९ लाख रुपैयाँ बराबरको तरलता सुविधा प्रयोग गरेका छन् । ३० अर्बको रिपो, १ अर्ब ४८ करोडको रिभर्स रिपो र ४६ अर्ब ५५ करोड ५९ लाखको स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका छन् ।
दशैंमा प्रणालीबाट बाहिरिएको निक्षेप बैंकिङ प्रणालीमा आउन केही समय लाग्ने उनले बताए । गाउँ गाउँसम्म बैंकहरुको शाखा विस्तार भएकोले चाँडै बैंकहरुमा निक्षेप आउने उनले बताए ।
प्रतिक्रिया 4