
‘ए ऊ खुसी त छ नि ! उसलाई के चिजको कमि छ र ? कति घुमे–डुलेको राम्रा-राम्रा फोटोहरू फेसबुकमा हामीले देखिरहेका हुन्छौं ।’
बाहिरी आचरणलाई हेरेर हामीलाई अरूको टिप्पणी गर्न धेरै सजिलो हुन्छ र अझ साथीभाइसँग बसेर गफ गर्न त झन् रमाइलो हुन्छ ।
मानसिक स्वास्थ्यलाई लिएर हामी नेपालीहरू त्यति धेरै सचेत छौं जस्तो मलाई लाग्दैन । तर अहिलेको बदलिंदो परिस्थितिमा बच्चादेखि बूढासम्म सबै मानसिक रोगको सिकार बनिसकेका छन् ।
यो कोरोनाकालको समयदेखि अहिलेको समयलाई हेर्दा लाखौं मानिस मानसिक रोगले पीडित छन् । मानसिक रोग एक भयङ्कर रोग हो र यही रोगले मानिस आत्महत्या गर्न पनि विवश हुन्छन् । कोरोना कालको समयमा मात्रै ८७५ जना मानिसले आत्महत्या गरेको कुरा तथ्यांकले देखाउँछ ।
मानसिक रोग जटिल विषय हो र यसलाई हल्का रूपले लिनु बुद्धिमानी हुँदैन । तर साँच्चै भन्नुपर्दा मैले हाम्रो समाजमा मानसिक रोगलाई गहन विषय मानेको देखेको छैन ।
अझ विशेषगरी किशोरावस्थाकै कुरा गरौं ।
‘खान दिएको छ, लाउन दिएकै छ, राम्रो स्कुल कलेजमा पढाइ पनि दिएकै छ, सबै गरेको छ । तँलाई चैं केको पिर, चिन्ता पर्यो ।’
यस्तो अभिव्यक्ति आमरूपमा सुन्न पाइन्छ । तर कलिला बालबालिकाको मन मस्तिष्कमा के बिझिरहेको हुन्छ कसैलाई थाहा हुँदैन ।
अहिलेको समयमा सामाजिक सञ्जालले पनि मानसिक स्वास्थ्यमा निकै ठूलो असर पारिरहेको छ । किनभने सामाजिक सञ्जाल एक लत हो । सामाजिक सञ्जाल नहेरी मानिसलाई एक दिन कटाउन पनि मुस्किल हुन्छ ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले हाम्रो निद्राको गुणस्तर घट्नुको साथसाथै मानसिक स्वास्थ्यमा पनि नराम्रो असर पर्छ । जसको फलस्वरूप हामी डिप्रेसन, एक्लोपन लगायतको सिकार हुन्छौं ।
सामाजिक सञ्जालमा देखेका सबै कुरा सत्य हुँदैनन्, तर त्यहाँ विषयवस्तुलाई यसरी पेश गरिएको हुन्छ कि हामीलाई त्यो सबै साँचो लाग्छ । वास्तवमा त्यो हाम्रो भ्रम मात्र हो ।
आफ्नो जीवनशैली अरूको जीवनशैलीसँग दाज्नु निकै अस्वस्थ कुरा हो । यस्तो बानीले आफू आफूमा ईर्ष्या र रिसइवी बढाउनुको साथसाथै नकारात्मक सोचको पनि वृद्धि गर्दछ ।
सामाजिक सञ्जालको बढी प्रयोगले हाम्रो आत्मविश्वास यति घटिरहेको हुन्छ त्यो हामी कल्पना पनि गर्न सक्दैनौं ।
मानसिक स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्य जति नै महत्त्वपूर्ण छ । त्यसैले यसको ख्याल गर्नु निकै जरूरी छ । सन्तुलित खानपान, योग र व्यायाम सँगसँगै सकारात्मक सोचको वृद्धि विकास गर्नाले क्रमिक रूपमा हाम्रो मानसिक स्वास्थ्य राम्रो हुँदै जान्छ ।
सामाजिक सञ्जाल प्रयोग गर्नुको साटो राम्रा राम्रा किताबहरू पढ्ने, नियमित रूपमा योग अभ्यास गर्ने विश्व प्रसिद्ध व्यक्तित्व सम्बन्धी पुस्तकहरू खोजी–खोजी पढ्ने बानी बसाल्ने र आफ्नो व्यक्तित्व विकासको लागि प्रयोगात्मक कामहरू गर्नाले हामीले आफ्नो मानसिक स्वास्थ्य धेरै हदसम्म तन्दुरूस्त राख्न सफल हुन्छौं ।
हरेक वर्ष आजैका दिन अर्थात् अक्टोबर १० मा मनाइदिने विश्व मानसिक स्वास्थ्य दिवसको सबैमा शुभकामना !
प्रतिक्रिया 4