
२३ असोज, काठमाडौं । रुपन्देही–५ मा नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरेको उम्मेदवारीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । यो क्षेत्रमा एमालेका पोलिट्ब्यूरो सदस्य खिमलाल भट्टराईको पनि उम्मेदवारी परेको थियो ।
तर घिमिरेको उम्मेदवारी दर्ता पहिले भएको भन्दै आयोगले उनैलाई मान्यता दियो । आयोगको यो निर्णयले भट्टराई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पाएनन् भने उनको राष्ट्रियसभा सदस्य पद पनि गयो । उनले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
रुपन्देही–५ बाट सर्वसम्मत सिफारिस भएका भट्टराईले एमाले अध्यक्ष केपी ओलीकै निर्देशनमा राष्ट्रियसभा सदस्यको राजीनामा दिएको बताएका छन् । ‘क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सर्वसम्मत रुपमा मलाई सिफारिस गरेको थियो । पार्टी अध्यक्षले (केपी ओली) पनि राष्ट्रियसभाबाट राजीनामा गर्नू भन्नुभयो, मैले राजीनामा गरेर उम्मेदवारी दिएँ’, भट्टराई भन्छन् ।
तर रुपन्देही–३ बाट सिफारिस भएका तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरे रुपन्देही–५ को उम्मेदवार बनेका छन् । ‘पार्टीको निर्णय भएपछि बासुजीले थुत्नुपर्ने (उम्मेदवारी फिर्ता लिनुपर्ने) हो, उहाँले अस्वीकार गर्नुभयो’, भट्टराई भन्छन् । घिमिरेले पनि पार्टीको निर्णयकै अधारमाा आफूले टिकट पाएको तर्क गरेका छन् ।
भट्टराई भने पार्टीको निर्णय अध्यक्ष ओलीले गर्ने तर्क गर्छन् । ‘मलाई पार्टी अध्यक्षले नै पठाएर आएको थिएँ । पार्टी अध्यक्षलाई सचिवालयले जिम्मा दिएको थियो । पार्टीको प्रतिनिधित्व भनेको जहिल्यै पनि अध्यक्षले गर्ने हो, झन् यसपटक सचिवालयले अधिकार दिएको थियो’ भट्टराई भन्छन् ।
अध्यक्षले नै उम्मेदवारी दिनु भनेकाले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएको उनी बताउँछन् । ‘मलाई राजीनामा गर भनेर अरुले भन्ने कुरै भएन, उहाँलाई अधिकार थियो, मैले गरेँ’ भट्टराई भन्छन् ।
भट्टराई राष्ट्रियसभामा एमाले संसदीय दलका नेता थिए । २०७४ सालमा राष्ट्रियसभा सदस्यमा चुनिएका उनको कार्यकाल ६ वर्षको थियो । तर रुपन्देही–५ मा एमालेकै दुई वटा उम्मेदवारी परेपछि भट्टराईले राष्ट्रियसभा सदस्य पनि गुमाउन पुगे ।
‘अब मेरो भन्नु एमालेले १६५ निर्वाचन क्षेत्र नै जित्नुपर्छ । जो जो तालमेलमा आएका छन्, उनीहरु पनि त हाम्रै भए’, भट्टराई भन्छन् ।
प्रतिक्रिया 4