
काठमाडौं । तपाईं ‘द भ्वाइस अफ नेपाल’को नियमित दर्शक हुनुहुन्छ भने आउने सातादेखि थप रोमाञ्चक हुनेछ । भावना र प्रतिस्पर्धाको मिश्रण तपाईंले पाउनुहुनेछ ।
शुक्रबारदेखि ‘ब्याटल’ चरण सुरु हुँदैछ र ६४ जना प्रतिस्पर्धीले जितका लागि होड गर्नेछन् । ‘ब्लाइन्ड अडिसन’ सकिएको छ र चारैजना कोचले १६/१६ जनाको समूह तयार पारिसकेका छन् ।
‘ब्याटल’मा एउटा समूहबाट आठ जना बाहिरिनेछन् । ‘एलिमिनेसन’ राउन्ड पनि भन्न सकिन्छ यसलाई । शो निर्देशक लक्ष्मण पौडेल ब्याटल चरण तीव्र प्रतिस्पर्धात्मक हुने बताउँछन् ।
‘ब्लाइन्ड’ अडिसनमा ८४ जनाभन्दा बढीले प्रतिस्पर्धा गरेका थिए । कोचबीचको नोकझोंक, रमाइला र भिन्न पृष्ठभूमि भएका प्रतिस्पर्धी, प्रतिभावान् तर नछानिएका किस्साले भरिएको ‘ब्लाइन्ड अडिसन’ साँच्चिकै लोभलाग्दो रह्यो । ‘ब्लाइन्ड अडिसन’मा धेरै आँसु बगे, धेरैले हाँसो समेटे ।
कोचहरु राजेशपायल राई, प्रमोद खरेल, राजु लामा र प्रविशा अधिकारीबीच प्रतियोगीलाई आफ्नो टिममा आकर्षित गर्ने प्रतिस्पर्धा र नोकझोंक हेर्नलायक रह्यो । छानिएका प्रतिस्पर्धीलाई आफ्नो टिममा सामेल गराउन यी कोचले गरेका रमाइला हर्कत दर्शनीय थिए ।
‘ब्याटल राउण्ड’ सकिएपछि सुरु हुनेछ ‘नकआउट राउण्ड’ । थप रोमाञ्चक एपिसोडहरु आउने तयारीमा छन् ।
द भ्वाइसको नेपाल संस्करणले नेपाली दर्शकलाई मनोरञ्जन दिइरहँदा अमेरिकी संस्करणको द भ्वाइसमा नेपाली मूलकी परिजिता बाँस्तोलाले तहल्का मच्चाइरहेकी छन् । जोन लिजेन्डको कोच समूहमा छानिएकी उनले आगामी सातादेखि ब्याटल चरणमा प्रतिस्पर्धा गर्नेछिन् । नेपालमा भने द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4