२५ असोज, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका कोलम्वियन फरवार्ड लुइस डियाज कम्तिमा पनि ३ महिना मैदान बाहिर हुने भएका छन् ।
घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म अर्थात कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति आर्सनलसँग ३–२ ले पराजित भएको खेलमा डियाज घाइते भएका थिए ।
आर्सनलका मिडफिल्डर थोमस पार्टीसँग जुधेपछि पहिलो हाफको अन्त्यतिर उनले वैसाखीको सहारामा इमिरेट्स स्टेडियम छाडेका थिए ।
२५ वर्षीय डियाजको सोमबार थप परीक्षण गर्दा घुँडाको लिगामेन्टमा समस्या पत्ता लागेको थियो । घुँडाको चोटको शल्यक्रिया गर्नु नपर्ने भए पनि उनले विश्वकपसम्म खेल्न नसक्ने भएका हुन् ।
२० नोभेम्बरबाट कतारमा विश्वकप सुरु हुनुअघि लिभरपुलले १३ नोभेम्वरसम्ममा १० खेल खेल्ने तालिका छ ।
डियाजको चोटसँगै यो सिजन खराव प्रदर्शन गरिरहेको लिभरपुललाई थप समस्या थपिएको छ । गत सिजनको उपविजेता लिभरपुल यो सिजन ८ खेल खेल्दा १० अंक जोड्दै अंक तालिकाको १० औं स्थानमा रहेको छ ।
लिभरपुलले कमजोर सुरुवात गरे पनि डियाजले लिभरपुलका लागि उच्च प्रदर्शन गरिरहेका थिए । डियाजले यो सिजन लिभरपुलका लागि १२ खेल खेल्दा ४ गोल गरिसकेका छन् । लिभरपुलले बुधबार च्याम्पियन्स लिगमा रेञ्जर्ससँग खेल्दैछ ।
प्रतिक्रिया 4