+
+

अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिंदै महानगर 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १६:५४
फाइल तस्वीर

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट हटाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मंगलबार पशुपति क्षेत्रमा अनधिकृत र मापदण्ड विपरीतको संरचना हटाएको छ ।

काठमाडौं–९ स्थित सञ्चारमार्गमा रहेको ७ वटा कवाडी व्यवसाय बन्द गराएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी निरीक्षक किशोर भटट्राईले विनादर्ता नै सञ्चालनमा रहेको ७ वटा कवाडी व्यवसायमा सिल गरेको बताए । उनले वडा कार्यालय मार्फत सूचना निकालेर व्यवसाय दर्ता र मापदण्डमा काम गर्न अनुरोध गरेता पनि अटेर गरेको भन्दै सिल गरिएको बताए ।

महानगरले होप हस्पिटलको बेसमेन्ट पनि खाली गराएको छ । सोही क्षेत्रको बलिउड रेष्टुरेन्टको बेसमेन्ट पनि खाली गराएको भट्टराइले बताए ।

‘स्टे अर्डर’ले समस्या

काठमाडौं महानगरपालिकाले बेसमेन्ट खाली गराउन डोजर चलाएपछि धेरै घरधनीहरुले अदालतमा मुद्दा दर्ता गरेपछि अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट खाली गराउने अभियानमा समस्या परेको महानगरले जनाएको छ ।

महानगरका एक अधिकृतका अनुसार दैनिक जसो अदालतमा स्टे अर्डरको विषय प्रवेश गरिरहेकोले महानगरले काम गर्न सक्ने स्थिति छैन । ती अधिकारीले भने, ‘२५ भन्दा धेरै स्थानमा महानगरको काम रोक्न अदालतले स्टे अर्डर दिएको छ । जुन ठाउँमा छोयो, सोही ठाउँको घरधनी अदालत गइहाल्छन् । अदालतले सिधै स्टे अर्डर दिइहाल्छ अनि कसरी काम गर्नू ।’

महानगरले टुकुचा खोला उत्खनन गर्ने अभियानलाई पनि काठमाडौं अदालतले स्टे अर्डर दिएको थियो । बुधबार अदालतमा काठमाडौं महानगरले टुकुचाको विषयमा आफ्नो भनाइ राख्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?