+
+
ब्लग :

हाम्रा शिक्षालय र समाजलाई कस्ता शिक्षक र कार्यक्रम चाहिन्छ ?

मोइन उद्दिन मोइन उद्दिन
२०७९ असोज २५ गते १७:३४

हाम्रा स्कुल, विद्यार्थी र समाजलाई खुसी, उमङ्ग, जोश र जाँगर भरिएका शिक्षकको आवश्यकता छ। जसलाई आफ्नो विषयका साथै अन्य विषयमा पनि धेरथोर ज्ञान हुनुपर्छ। जस्तै, खेलकुद, मनोरञ्जन, स्वास्थ्य, व्यापार, समाजसेवा, राजनीति, विज्ञानलगायत विभिन्न पेशा र अन्य विधामा अलि अलि दक्खल राख्ने शिक्षकले अपेक्षित काम गर्न सक्छन्। किनकि हाम्रा विद्यार्थी फरक–फरक खालका छन्। उनीहरूको चाहना बेग्लाबेग्लै छन्।

सबैलाई विज्ञान, गणित, अङ्ग्रेजी मनपर्छ भन्ने छैन। हो, त्यस्ता विद्यार्थीलाई उनीहरूको चाहना र इच्छालाई पहिल्याएर ती विषय पढाउनुपर्ने हुन्छ। कसैलाई खेलकुदको चाहना हुन्छ। कसैलाई विभिन्न किताब पढ्ने चाहना हुन्छन्।

कसैलाई समाजसेवाका कुरा मनपर्छ। कसैलाई डुल्न मन लाग्छ। कसैलाई पृथ्वी बाहिरका भूमण्डलका कुराहरू गरेर पढाउनुपर्छ। त्यसैले एउटा शिक्षक आफूले पढाउने विषयमा अब्बल भएर मात्रै पुग्दैन, आफ्ना विद्यार्थीको चाहनालाई ध्यानमा राखेर पढाउने क्षमता पनि चाहिन्छ।

विद्यार्थीलाई ठूल्ठूला सपना देखाउन सक्ने क्षमता भएर मात्र हुँदैन। उनीहरूलाई ती सपनालाई पूरा गर्न के–के गर्नुपर्छ, कसरी गर्नुपर्छ, कसरी मिहिनेत गर्नुपर्छ भनेर सिकाउने शिक्षकको आवश्यकता छ। उनीहरूलाई दुःख-सुख र जित-हारको अर्थ के हो ? सपना पूरा नहुँदाको कसरी धैर्य गर्नुपर्छ र यसबीचमा आउने चुनौतीको बारेमा अवगत गराउँदै लैजान सक्ने शिक्षकको आवश्यकता छ।

एउटा चाहेको कुरा पूरा नहुँदा पनि आत्तिने बानी त्याग्न सिकाउने शिक्षक चाहिन्छ जसबाट विद्यार्थीले एउटा सम्भावनाको अन्त्य हुनु अरु हजार सम्भावनाको ढोका खुल्नु हो भन्ने बुझ्न सकून्। हाम्रा वरिपरि रहेका हजारौं अवसरलाई पहिल्याउन सिकाउने र मद्दत गर्न सक्ने शिक्षकको आवश्यकता छ।

भौतिक कुरा

हाम्रा स्कुलका प्राङ्गण, कक्षाकोठा, शौचालयलगायत सफासुग्घर हुनुपर्छ। विद्यालयको परिवेश विद्यार्थी र अभिभावकलाई पनि स्कुल आऊँ आऊँ लाग्ने हुनुपर्छ। यी आधारभूत कुराहरू नहुँदा विद्यार्थीलाई पठनपाठन गर्न र गराउन मुश्किल पर्छ।

विद्यालय सफा राख्न अभिभावकको पनि सहयोग लिन सकिन्छ। समुदायको सहभागितामा सरसफाइको काम गर्ने अभ्यास निकै लाभदायी प्रमाणित हुनसक्छ। किनकि स्कुल त विद्यार्थी र त्यहाँ पढाउने शिक्षकको मात्र नभई समुदायको पनि अभिन्न अंग हो। यसले सबैको जीवनमा छुन्छ। स्कुललाई राम्रो र सफा सुग्घर राख्नु समुदायको पनि दायित्व हुन्छ।

शिक्षक-विद्यार्थी केन्द्रित प्रेरणात्मक कार्यक्रम

विद्यार्थी र शिक्षकहरूका लागि विभिन्न प्रेरणात्मक कार्यक्रम बेलाबेलामा आयोजना गर्नुपर्छ। यत्तिकै आफसेआफ कोही पनि प्रेरित हुँदैनन्, त्यसको लागि विभिन्न विषयले भूमिका खेल्छन्। विद्यालयले राम्रो प्रयास गरिरहेका विद्यार्थीलाई पुरस्कृत गर्न सक्छ।

उनीहरूलाई नेतृत्वको अवसर सिर्जना गर्न सक्छ। राम्रो काम गर्न प्रयासरत शिक्षकको पहिचान गरेर उनीहरूको योगदानको कदर गर्नुपर्छ। पुरस्कार दिएर हुन्छ कि अन्य राष्ट्रिय, अन्तर्राष्ट्रिय शिक्षक तालिम अथवा कार्यक्रममा पठाउन पहल गर्नुपर्छ। आफ्नो फिल्ड बाहेकको पनि एक्स्पोजर दिंदा झनै राम्रो हुन्छ।

हो, विद्यालयमा हामी शिक्षकले पढाउँछौं। शिक्षकको पढाउने शैलीमा अब्बल भएर मात्रै हुँदैन। विभिन्न क्षेत्रको प्रेरणादायक मानिसहरूलाई बोलाएर उनीहरूसँग अन्तरक्रिया गराएर एकअर्काको राम्रो कुराहरू साटफेर गर्ने अभ्यासले सिकाइको दायरा फराकिलो हुन्छ।

हाम्रा विद्यार्थी र शिक्षकको जीवनमा आइरहेका र आइपर्न सक्ने घटनाहरूको बारेमा पनि सम्बन्धित निकायले बेलाबेला सोधीखोजी गरेर केही आपत् परे सहयोग गरे पनि ठूलै कुरा हुन्छ। स्कुलका अगुवाले यसरी अभिभावकत्व देखाउँदा उनीहरू थप स्कुलप्रति बफादार हुने गर्दछन्।

समुदाय र स्थानीय सरकारसँग साझेदारी

हाम्रो विद्यालयहरूले समुदाय र स्थानीय सरकारसँग मिलेर अगाडि बढ्नुपर्छ। सरकारी विद्यालयहरू स्थानीय सरकारको मातहतमा हुन्छन्। सरकारसँग साझेदारीमार्फत उनीहरूलाई पनि स्कुलको रेखदेख र कार्यक्रमहरूमा जोड्नुपर्छ। विद्यालय एक्लैले धेरै कुरा गर्न सक्दैनन् तर समुदाय र स्थानीय सरकारसँग मिलेर धेरै काम गर्न सक्छन्।

हाम्रा समुदायमा विभिन्न खाले मान्छे बस्छन्। उनीहरूसँग विभिन्न दक्षता र क्षमता हुन्छन्। त्यसलाई विद्यालयको हितमा परिचालन हुने अवस्था सिर्जना गर्नुपर्छ। जस्तै, स्कुल अथवा समुदायको सरसफाइ गर्दा यी तीनै पक्षको सहयोग लिन सकिन्छ। यसले विद्यालयप्रति समुदाय र स्थानीय सरकारको अपनत्व र स्वामित्व भाव बढाउँछ।

केही नीति नियम बनाउन परे स्थानीय सरकारको सहयोग लिन सकिन्छ। विद्यालयमा सरकारी कामकाजबारे नागरिकलाई जानकारी दिने कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
विद्यार्थी, शिक्षक र अभिभावकलाई बेलाबेलामा सरकारी कार्यालय भ्रमणमा लैजान सकिन्छ।

यसबाट सबै पक्षले सरकारी काम कसरी हुन्छन् भनेर जान्न सक्छन्। हामीसँग भएका विभिन्न चाडपर्व सँगै मनाएर यसबारे व्यापक रूपमा जानकारीको लेनदेन गर्न सकिन्छ। यसरी गर्न सक्ने, सिक्न र सिकाउने सक्ने धेरै कुरा छन्। यो तीन पक्ष मिलेर काम गर्दै अगाडि बढ्न सके समुदायका तीनै पक्षले काया फेर्न सक्छन्।

होम भिजिट

भर्ना अभियानका बेला मात्रै हाम्रोमा अभिभावकसम्म पुग्ने अभ्यास देखिन्छ। यसलाई अन्य बेला पनि निरन्तरता दिनुपर्छ। एउटा शिक्षकले आफ्ना विद्यार्थीको अवस्था के कस्तो छ, पढाइको अवस्था के छ, पारिवारिक अवस्था के कस्तो छ भनेर बुझ्नु जरुरी छ। होम भिजिट जाँदाको फाइदाहरू धेरै छन्। यसले विद्यार्थी र अभिभावकसँग सम्बन्ध प्रगाढ हुन्छ। विद्यार्थी र उनका अभिभावकले गर्ने विश्वास बढ्छ। आफ्नो र बालबालिकाको बारे सहजै कुरा गर्न सुरु गर्छन्।

कहिलेकाहीं विद्यार्थी स्कुल नआउँदा किन आएनन् भनेर पनि बुझ्न जरुरी छ। स्कुलमा कसैले केही भने कि ? अथवा स्वास्थ्यमा गडबडीले गर्दा पो हो कि ? अरु अन्य समस्याले गर्दा न आइरहेका पो हुन् कि भनेर बुझ्न जरुरी छ।

यी यत्तिकै सोध्दैमा थाहा हुँदैन। त्यसको लागि विद्यार्थी र अभिभावकको विश्वास जित्न जरुरी छ। कतिपय कुराहरू गोप्य पनि राख्नुपर्ने हुन्छ। गोपनीयताको हनन् गर्नुहुँदैन। म पनि निकैचोटि होम भिजिट गएको छु र यसरी होम भिजिट जाँदा, समुदायसँग पनि नजिक भइन्छ। कतिपय अवस्थामा हामीले समुदायको समस्या बुझेर त्यसको समाधानका लागि भूमिका निर्वाह गर्न सक्छौं। यसले अभिभावकसँगको सम्बन्ध थप सुमधुर बन्न सक्छ।

इन्टर्नसिप

प्रायः १०+२ अथवा स्नातक तह पढ्दै गर्दा इन्टर्नसिपको लागि पठाउने अभ्यासमा हाम्रोमा औपचारिकतामा मात्र सीमित छ। स्कुल तहका विद्यार्थी सानै भएकोले उनीहरूले कुरा बुझ्दैनन् भनेर बेवास्ता गरिन्छ तर स्कुल पढ्दै गरेका विद्यार्थीलाई उनीहरू सानै छन्, केही बुझ्दैनन् भनेर त्यसरी बेवास्ता गरिएको धेरै पाएको छु।

कक्षा ६ देखि माथिका विद्यार्थी बुझ्ने भइसकेका हुन्छन्। जिम्मेवारी के हो र यसलाई कसरी पालना गर्नुपर्छ भन्ने कुराको ज्ञान लिने बेला भइसकेका हुन्छन्। अबको १० वर्षभित्रमा उनीहरू नै समाज र समुदायमा भएका विभिन्न पेशामा आबद्ध हुनेछन्। उनीहरूलाई ती मार्केटमा पठाउनको लागि पनि स्कुल तहबाटै पहल गर्नुपर्छ।

किन १०+२ अथवा स्नातक तहको पढाइलाई कुरेर बस्ने। स्कुल तहबाटै इन्टर्नसिप गर्दाको फाइदा धेरै छन्। विद्यार्थीले जे पढेका छन्, पछि गएर त्यही अनुसारको काम नगर्न पनि सक्छन्। पछि पढ्दै गएर, त्यो विषय उसलाई मन पर्न अथवा नपर्न पनि सक्छ।

शिक्षकले म नै जान्ने, म यतिका वर्ष पढाइरहेको भनेर गर्ने घमण्डलाई अब हटाउनुपर्छ। हामी सबै सिक्दै जाने प्राणी हौं। सधैं सुधारको लागि ठाउँ खाली राख्नुपर्दछ।

समुदायमा भएका विभिन्न पेशाको बारेमा सबै विद्यार्थीले स्कुल तहबाटै अलि अलि ज्ञान लिनुपर्छ। उसलाई पछि गएर आफूलाई खुसी मिल्ने कुन पेशा छान्ने, कुनमा मन लगाएर अगाडि बढ्न सकिन्छ भन्ने खालका कुरा स्कुल तहबाटै बुझ्न पाए कति राम्रो हुनेथियो।

पछि गएर यस्तो कुरा बुझ्दा, सिक्दै गर्दा अथवा उसलाई मन नपर्दा उसले आफ्ना भविष्यका बाटोहरू साँघुरिंदै गएको पाउँछ र पछि बाटो परिवर्तन गर्न नपाउँदा ऊ आफैंमा गुम्सिनुपर्ने हुन्छ। उसलाई, उसका परिवार र अन्ततः समुदाय र राज्यले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ र त्यो नहुन दिन स्कुल तहबाटै, विभिन्न इन्टर्नसिपका अवसरहरू प्रदान गर्न विद्यालयका सञ्चालकहरूले प्राथमिकता दिनुपर्छ।

बरु हप्ताको एक दिन ‘इन्टर्नसिप डे’ भनेर त्यस्तो कार्यक्रम पो राख्ने कि ? महिनाको एकचोटि या हुनसक्छ वर्षभरिमा एक हप्ता वा दुई हप्ताको समय पारेर ‘इन्टर्नसिप विक’ भनेर पनि आयोजना गर्न सकिन्छ, जहाँ हाम्रा विद्यार्थीले समुदायमा भएका व्यवसाय जस्तै- होटल/क्याफेमा गएर काम गर्न सक्छन्।

त्यहाँ तिनीहरूले त्यो काम कसरी हुन्छ भनेर बुझ्ने प्रयास गर्न सक्छन्। मेकानिक्सकोमा गएर गाडी मोटरसाइकल बनाउने वर्कशपमा इन्टर्नसिप गर्न सक्छन्। कोही चाहिं स्थानीय सरकारको कार्यालयमा इन्टर्नसिप गर्न सक्छन्। बरु वडाअध्यक्ष अथवा मेयरले कसरी काम गर्छन् भनेर एकदिन सँगसँगै बस्न/हिंड्न सक्छन्।

त्यसैगरी कोही अस्पतालमा, कोही विमानस्थलमा, कोही ट्राभल एजेन्सी त कोही ट्राफिक प्रहरीसँग काम गर्न सक्छन्। कोही प्रहरी चौकीमा त कोही सैनिक ब्यारेकमा। कोही सञ्चारमाध्यममा त कोही लेखक/कलाकारसँग। कोही फेसन डिजाइनर त कोही विज्ञान अनुसन्धानमा। यसका लागि हजारौं विकल्प छन्।

हाम्रा प्रायः नेपालको विद्यालयमा शिक्षकको अभाव छ। त्यसलाई न्यूनीकरण गर्न दक्ष शिक्षक उत्पादन विद्यालयबाट नै हुनुपर्दछ। हाम्रा विद्यार्थीलाई सामान्य सजिलो तरिकाले शिक्षण तालिम दिएर बरू साना साना कक्षाका विद्यार्थीलाई हप्ताको कुनै दिन पढाउन लगाउन पनि सकिन्छ। यसबाट उनीहरूलाई पछि शिक्षक हुनको लागि प्रेरणा पनि मिल्न सक्छ।

विषयगत जानकारी भएका कक्षा १० का विद्यार्थीले कक्षा ९ सम्मका विद्यार्थीलाई राम्ररी पढाउन सक्छन्। राम्ररी प्रेरित गर्न सके कक्षा ५/६ को विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई सहजै पढाउन सक्छन्।

माथिल्लो डोल्पामा पढाउँदै गर्दा मैले मेरा विद्यार्थीलाई सामान्य ‘टिचर ट्रेनिङ्ग’ दिएर सजिलो तरिकाले ‘लेसन प्लानिङ’ सिकाएँ। उनीहरूले आफ्नै कक्षाका साथीलाई पढाउन सके। यसबाट मैले हाम्रा हरेक विद्यार्थी पनि शिक्षक बन्न काविल छन् भन्ने थाहा पाएँ। केवल हामी शिक्षक र विद्यालय प्रशासन अलि दूरदर्शी बन्नुपर्छ र त्यसलाई पूरा गर्न लागिपर्नुपर्छ।

यसरी विभिन्न पेशाको इन्टर्नसिप स्कुल तहबाटै गराउने हो भने पछि गएर कुनै पक्षले पनि दुःख पाउने थिएनन्। झन् दक्ष जनशक्ति हाम्रै स्कुलबाटै जन्मन सक्थे। यसतर्फ सम्बन्धित निकायले चासो दिने पो हो कि ?

अभिभावकको संलग्नता

हाम्रा विद्यार्थीका अभिभावक एकसेएक छन् र उनीहरूको अनुभव निकै व्यापक हुन्छ। विद्यालयले अभिभावकको क्षमता र प्रतिभा चिन्न जरुरी छ। कुनै पनि विद्यालयले अहिलेसम्म अभिभावकसँग मिलेर काम गरेको उदाहरण सुनेको छैन। आफ्ना बच्चाको पढाइ कस्तो छ भनेर स्कुलले बोलाउँदा मात्र आएका उदाहरण छन्।

हाम्रा विद्यालयले अभिभावकको शक्ति बुझेका छैनन्। डाक्टर, पाइलट, राजनीतिज्ञ, व्यापारी, किसान, लेखक, गृहिणी, वकिल, शिक्षकलगायत व्यापक अनुभव र सीप भएका अभिभावक हामीसँग छन्। उनीहरूको दक्षता र क्षमतालाई हामीले उपयोग गर्न सक्नुपर्छ। विद्यालयले अभिभावक र उनीहरूसँग भएको क्षमताको अभिलेख नै राख्नुपर्छ।

शिक्षक अभाव हुँदा वा अन्य बेलामा पनि कतिपय हाम्रा अभिभावकलाई पढाउन लगाउन सकिन्छ। पारिश्रमिक दिएर वा अन्य सम्मान गरेर उनीहरूको सहयोग लिन सकिन्छ। स्कुलमा स्वास्थ्य शिविर गर्नुपर्दा अभिभावकमध्येका डाक्टरलाई बोलाउन सकियो। यस्ता धेरै उदाहरण दिन सकिन्छ। यसले दुई पक्षबीच सम्बन्ध सुदृढ बन्छ र दुवै पक्षले लाभ लिन सक्छन्।

ह्याप्पी शिक्षक र अभिभावक

हाम्रा विद्यालयमा खुसी र उमंगले भरिपूर्ण शिक्षक चाहिएका छन्। तर ह्याप्पी शिक्षकलाई ह्याप्पी बनाउने काम त विद्यालय प्रशासनले गर्नुपर्ने हो। यसमा स्थानीय समुदाय र सरकारको पनि उत्तिकै दायित्व हो। शिक्षकले समयमै तलब पाउनुपर्छ। आफ्नो श्रमको मूल्य पाउन व्यहोर्नुपर्ने दुःख र तनावले कसरी शिक्षकलाई खुसी राख्न सक्छ ?

शिक्षकहरूको प्रयास र कामलाई प्रोत्साहन र सम्मान गर्नुपर्छ। बेलाबेलामा स्कुलको मापदण्ड अनुसार उनीहरूको प्रमोसन हुनुपर्छ। स्थानीय सरकार, समुदाय र विद्यालय मिलेर हाम्रा शिक्षकहरूको लागि उहाँहरूको करिअरलाई सबल बनाउने प्रयत्न गर्न जरुरी छ। शिक्षणसँग जोडिएर आएका कामहरूको खोजी अथवा उहाँहरूमा क्षमता विकासका कामहरू गर्नलाई बाटो पहिल्याइदिन सक्नुपर्छ।

विद्यालयमा धेरै विभाग हुन्छन्। सामान्य तरिकाले सोच्दा विद्यालय भनेको पढाउने र पढ्ने ठाउँ हो जस्तो लाग्छ तर त्यहाँ थुप्रै विभागीय काम हुन्छन्। जस्तै- प्रसाशन, फाइनान्स, स्कुल क्यान्टिन, होस्टल, लाईब्रेरी, स्पोर्टस् लगायतका अन्य डिपार्टमेन्टहरु हुन्छन्।

एउटा काममा रुचि नहुँदा अर्को वैकल्पिक कामको व्यवस्थाले पनि शिक्षक खुसी रहन सक्छन्। ‘डिपार्टमेन्ट स्विच’ गर्ने वातावरणको विकास गर्न सके हाम्रा शिक्षकहरू विद्यालयप्रति थप बफादार हुनसक्छन्। यसले कामको खोजीमा भौंतारिनुपर्ने अवस्थाको न्यूनीकरण हुन्छ।

शिक्षकको सामान्य खाजा, चिया, कफीको व्यवस्था विद्यालयले नै गर्न सके कति राम्रो हुनेथियो। शिक्षकलाई जतिखेर पनि आफ्नो फुर्सदको समयमा चिया, कफी, तातो–चिसो पानी बनाएर खान, पिउनको लागि सानो एउटा कुनै कोठाको प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्छ।

आराम कक्ष पनि अर्को महत्वपूर्ण आवश्यकता हो। थकाइ र निद्रा लाग्दा छोटो समयको निद्रा (न्याप) का लागि यस्ता कोठा उपयोग हुन्छन्। गर्भवती, सुत्केरी शिक्षकहरूको लागि साना बच्चाहरूलाई दूध खुवाउने अथवा उनीहरूको केयर गर्न सक्ने ठाउँको व्यवस्था गर्न सके त सुनमा सुगन्ध भनेजस्तै हुनेथियो।

शिक्षक, अभिभावक र विद्यार्थी सबैलाई खुसी राख्न सके विद्यालयले प्रगति गर्न सक्छ। यसबाट नमूना विद्यालय बन्न सक्छ।

सरल छोड्ने र फेरि आउने प्रक्रिया

विविध कारणले शिक्षकले विद्यालय छाड्नुपर्ने हुनसक्छ। बिरामी, गर्भवती, अन्य अवसरको खोजी, कम तलब लगायतका विविध कारणले शिक्षकले जागिर छाड्नुपर्ने हुनसक्छ। उनीहरू पुनः विद्यालय फर्कन चाहेमा सरल प्रक्रिया हुनुपर्छ। किनकि उनीहरूले जति विद्यालय नयाँले नबुझेका हुनसक्छन्।

उनीहरूको अनुभव, विद्यार्थीसँगको सम्बन्ध र विद्यालयको वातावरणको ज्ञानलाई सदुपयोग गर्न सक्नुपर्छ। हरेक शिक्षकको क्षमता र सूचनाको अभिलेखीकरण गरेर राख्दा यो प्रक्रिया थप सहज हुन्छ। पूर्व शिक्षकसँगको अन्तरक्रिया हरेक वर्ष राख्न सक्दा अनुभवको आदानप्रदान सहजै हुनसक्छ।

अलुम्नाई भेटघाट

भूतपूर्व विद्यार्थीको भूमिका एउटा विद्यालयको लागि कति महत्वपूर्ण हुन्छ। हरेक विद्यार्थीलाई आफ्नो विद्यालयको माया हुन्छ। आफू पढेको ठाउँ अझै राम्रो भएको देख्ने चाहना हुन्छ। विद्यालयको स्तर खस्किँदै जाँदा ती विद्यालयमा पढेका सबैको मन दुख्छ। तर अझै पनि विद्यालयहरूले आफ्ना भूतपूर्व विद्यार्थीको सहयोग लिएर स्कुल चलाएको उदाहरण कमै छन्।

म सिन्धुपाल्चोकमा काम गर्दा त्यहाँका भूतपूर्व विद्यार्थीले वार्षिक उत्सव हुँदा खेल प्रतियोगिताको लागि पैसाको सहयोग गरेका थिए। कसैले जापान, कसैले कोरिया, अमेरिका, अष्ट्रेलिया, युके, जर्मनी, खाडी मुलुक लगायत अन्य ठाउँहरूबाट। त्यस्तै माथिल्लो डोल्पामा पढाउँदा पनि त्यहाँको विद्यालयलाई भूतपूर्व विद्यार्थीले चलाइरहेका थिए।

यस्तै धादिङमा पनि काम गरिरहँदा विदेशमा महत्वपूर्ण ओहोदामा रहेका त्यहाँका भूतपूर्व विद्यार्थीले पनि आफू जहाँसुकै रहेतापनि विद्यालयमा टिचर ट्रेनर, स्वास्थ्य सहजकर्ता पठाएर सहयोग गरिरहेको ताजा उदाहरण छ।

ती त भए बाहिर बसेर सहयोग गरिरहेका उदाहरण। तर यतै पनि त कति भूतपूर्व विद्यार्थी छन्। कसरी स्कुललाई प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भनेर उहाँहरूको सहयोग, राय र सल्लाह लिन सकिन्छ। किनकि उनीहरूले विद्यालय र त्यहाँको वातावरण, समुदायसँग पहिले नै भिजिसकेको हुन्छन्। विद्यालयका सबल र दुर्बल पक्ष थाहा पाइसकेका हुन्छन्। स्कुलले आफ्ना भूतपूर्व विद्यार्थीसँग बारम्बार बेला बेलामा गोष्ठी अथवा भेटघाट कार्यक्रम आयोजना गर्नुपर्छ।

त्यसरी भूतपूर्व विद्यार्थीलाई एकैठाउँ बोलाउँदा र उनीहरूको सहयोग लिंदा ती पहिलेका विद्यार्थीलाई झनै आफूले पढेको विद्यालयप्रति माया बढेर आउँछ र अझै स्कुललाई कसरी राम्रो बनाउने भन्नेतर्फ चिन्तित र तल्लीन पनि हुनेछन्।

भूतपूर्व विद्यार्थीले दिएका राम्रा रायसल्लाह सुझावलाई पालना पनि गर्नुपर्दछ। अघि भनेझैं हाम्रा भूतपूर्व विद्यार्थी विभिन्न ओहोदामा रहेर काम गरिरहँदा उनीहरूले हासिल गरेको दक्षतालाई पहिचान गरेर स्कुलमा ज्ञान र सीपको सदुपयोग गर्न पछि पर्नुहुँदैन।

विद्यार्थीको राय-सल्लाह र सुझाव

शिक्षकहरूले पढाउन त जान्छन्, पढाउँछन्। यो विद्यार्थी यस्तो उस्तो भनेर रिपोर्टिङ गर्छन् तर आफूले कस्तो पढाएँ, कसरी पढाएँ, पढेका कुरा मेरो विद्यार्थीले बुझेका छन् कि छैनन्, उनीहरूलाई के समस्या देखिएको छ लगायत फिडब्याक लिएका छैनन्, ती लिन जरुरी छ।

उनीहरूको सुझाव पनि मनन् गर्दै आफूलाई परिवर्तन पनि गर्नुपर्छ। शिक्षकले म नै जान्ने, म यतिका वर्ष पढाइरहेको भनेर गर्ने घमण्डलाई अब हटाउनुपर्छ। हामी सबै सिक्दै जाने प्राणी हौं।

सधैं सुधारको लागि ठाउँ खाली राख्नुपर्दछ। त्यही भएर कक्षाकोठामा पढाइसकेपछि बेलाबेलामा आफूले के पढाएँ, कस्तो पढाएँ, कस्तो व्यवहार गरेँ, के नयाँ कुरा सिकाएँ, के सिकाउनुपर्ने थियो तर सिकाइनँ लगायत कुराहरूको प्रतिबिम्बन गर्न जरुरी छ।

विद्यार्थीको प्रतिभा पहिचान

हाम्रा विद्यार्थीमा अनेकन् प्रतिभा हुन्छन्। तिनीहरूका प्रतिभालाई पहिचान गर्न सक्नुपर्छ। विद्यार्थी आफूमा भएका इच्छा र प्रतिभालाई पहिल्याउन खोजिरहेका हुन्छन् र कतिपय अवस्थामा हामी शिक्षक बाधा बनिदिन्छौं।

थ्री इडियट्स चलचित्रमा जोए भन्ने पात्रले ड्रोन बनाउँदा उनका प्रोफेसरले के बनाएको यस्तो वाहियात् भने। बरू परीक्षाको तयारी गर भने र पछि उसको अभिभावकलाई फोन गरेर आफ्ना छोरालाई वाहियात् कुरा बनाउनु भन्दा पढाइमा चासो राख्न लगाउनु भने। अब ती विद्यार्थीमा कस्तो प्रभाव पर्यो होला ! हो, त्यस्तै चलन अहिले पनि अधिकांश विद्यालयमा छन्।

हाम्रा विद्यार्थीलाई प्रेरणा दिन र उनीहरूको प्रतिभा चिनाइदिएर थप बलियो बनाउन मद्दत गर्न सक्ने शिक्षकको आवश्यकता छ। कतिपय अवस्थामा विद्यार्थीले आफ्ना प्रतिभा चिनिरहेका हुँदैनन्, त्यसको लागि कसैले भनिदिनुपर्छ। धेरै विद्यार्थीले गाउन, नाच्न, भाषण गर्न त गर्छन् तर आफू त्यसमा राम्रो छु कि छैन भनेर अरु कसैले भनिदिनुपर्छ।

बाल्यकालमा मलाई रेडियो, टेलिभिजनको कार्यक्रममा फोन गर्न मनपर्थ्यो र गर्थेँ पनि। तर मलाई मेरो स्वर राम्रो छ, म राम्रो कुराकानी गर्छु भन्ने थाहा थिएन। पछि अरूले भन्दा मात्र मैले मेरो प्रतिभा चिनेँ। म राम्रो बोल्दो रहेछु। त्यस्तै मलाई लेख्न मनपर्थ्यो तर म राम्रो लेख्छु, लेख्दिनँ भन्ने थाहा थिएन। जब अरूले तिमी राम्रो लेख्छौ, अझै लेख्दै गर भन्दा झन् लेख्न मनलाग्यो। भन्न खोजेको कतिपय प्रतिभाहरू अरूले चिनाइदिनुपर्ने हुन्छ। त्यसैले हाम्रा बालबालिकाको प्रतिभालाई चिनाइदिने काम हामी शिक्षकले गर्नुपर्दछ।

हाम्रा विद्यार्थी जिम्मेवारी बहन गर्न चाहन्छन्। जस्तै, विभिन्न स्कुलका क्लबहरूको जिम्मेवारी- साहित्यिक क्लब, नृत्य क्लब, इको क्लब, बाल क्लब लगायतका अन्य क्लबहरूको।

विद्यार्थीलाई पढाइमा असर नपर्ने गरी अलि अलि जिम्मेवारी दिनुपर्छ। यस्तो बहन गर्न सक्ने जिम्मेवारी राम्ररी पूरा गर्दा त्यसको राम्रो मूल्यांकन हुनुपर्दछ र सुधार गर्नुपर्नेछ भने सुधार गर्नलाई के के गर्नुपर्छ भनेर भन्न जरुरी छ।

हाम्रा विद्यार्थीलाई विभिन्न क्षेत्रको बारेमा जानकारी दिनुपर्छ। ती क्षेत्रमा घुमाउन र त्यहाँका विभिन्न व्यक्तिसँग अन्तरक्रिया गराउनुपर्छ। विद्यार्थीको साथै शिक्षकहरूलाई पनि विभिन्न कुराको ज्ञान र अवसर दिलाउन कन्जुस्याइँ गर्नुहुँदैन।

अन्य शिक्षालय र संघ–संस्थासँग सहकार्य

विभिन्न स्कुल, कलेज र देश–विदेशका विश्वविद्यालय र संघ–संस्थाहरूसँग सहकार्य गर्नुपर्ने अहिलेको आवश्यकता हो। हाम्रा विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न र उनीहरूको भविष्यलाई बाटो देखाउन विभिन्न संस्थासँग सहकार्य गरेर छात्रवृत्ति तथा कामको ग्यारेन्टी दिलाउने प्रयत्न गर्नुपर्छ। ताकि हाम्रा विद्यार्थीले कक्षा १० सकेपछि कलेज पढ्न र अन्य अवसरको लागि भौंतारिन नपरोस्। विद्यार्थी आफैंले यी सब कुरा पहिल्याउन सक्दैनन्।

के पढ्ने, कसरी पढ्ने, कहाँ पढ्ने, के काम गर्ने, कसले सहयोग गर्छ, घरको अवस्था लगायत कुराले पिरोलिरहेको हुन्छ एउटा विद्यार्थीलाई। कोही मात्र हुन्छन् जसले सहयोग पाएर त्यो सब कुराबाट अघि बढ्छन् भने कतिपय यस्तै समस्यासँग जुध्दै गर्दा हार्न पुग्छन्। र, तिनीहरू हार्नु भनेको हामी सबै हार्नु हो। उनीहरूको भविष्य उज्ज्वल हुँदा हाम्रो पनि भविष्य उज्ज्वल हुनु हो।

त्यही भएर उच्च शिक्षा हासिल गरेपछि कहाँ कहाँ काम गर्ने वातावरण मिलाउन सकिन्छ भनेर विभिन्न संस्थासँग सहकार्य गर्नुपर्छ। ती संस्थालाई पनि राम्रो जनशक्ति चाहिएकै हुन्छ। स्कुल तहबाटै आफ्नो योगदान विद्यालय, विद्यार्थी र समुदायमा पुर्याउनुपर्छ।

यसरी सोचौं – यी विद्यार्थी भनेका हाम्रो छोराछोरी हुन् र यिनीहरू अनुत्तीर्ण हुँदा, कमजोर हुँदा कस्तो पीडा हुन्छ, कस्तो असर पर्छ एउटा आमाबुवालाई। त्यो नहुन दिन के के गर्नुपर्छ भनेर जसरी आफ्ना सन्तानको उज्ज्वल भविष्यको लागि बाटो खोज्न आमाबुवा लागिपर्छन्, त्यसरी एउटा स्कुल, शिक्षक, समुदाय र स्थानीय सरकारले यी विद्यार्थी आफ्ना सन्तान हुन् भनेर लागिपर्नुपर्छ।

सके आफैंले, नसके अरूको सहयोग लिएर भए पनि लागिपर्नुपर्छ। हामीले यसो गर्न सके कोही पनि विद्यार्थी बरालिएर, बिग्रिएर, छाडापन अपनाएर हिंड्नुपर्ने थिएन। बरु उनीहरू दक्ष, सक्षम र जिम्मेवार नागरिक भएर उदाउने थिए।

टिच फर नेपालको अलुम्नाई उद्दिन उत्तरी धादिङ गंगा–जमुना गाउँपालिकामा अवस्थित तामाङ खर्क उच्च मावि र वडा ३ र ४ मा रहेका फिडर स्कुलमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?