+

कानको जाली प्वाल परेमा कति आफैं टालिन्छ, कति शल्यक्रिया गर्नुपर्छ : डा. अरुण केसी 

२०७९ असोज  २६ गते १४:५० २०७९ असोज २६ गते १४:५०
कानको जाली प्वाल परेमा कति आफैं टालिन्छ, कति शल्यक्रिया गर्नुपर्छ : डा. अरुण केसी 

काठमाडौं । कानको भित्री तहमा एउटा जाली हुन्छ, जसको माध्यमबाट हामीले आवाज सुन्ने गर्छौं । यदि यो जाली फाट्यो वा त्यसमा कुनै समस्या आयो भने श्रवण शक्ति कमजोर हुन्छ । तर यति संवेदनशील कुराप्रति हामी उतिधेरै ख्याल राख्दैनौं । कान कोट्याउनेदेखि कानमा तेल हाल्नेसम्म हामी गरिरहेका हुन्छौं, जसले कानको जालीमा प्वाल पार्ने जोखिम हुन्छ ।

कानको जाली प्वाल परेपछि के हुन्छ ? यसले के कस्ता जटिलता निम्त्याउँछ ? यसै विषयमा नाक, कान, घाँटीरोग विशेषज्ञ डा. अरुण केसीसँग अनलाइनखबरकर्मी मनिषा थापाले  गरिएको कुराकानीको सम्पादित अंश :

कानको जालीको काम के हो ? यो कस्तो अवस्थामा हुन्छ ?

कानको मध्यभागमा जाली रहेको हुन्छ । कानको बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । आवाज जब कानमा प्रवेश गर्छ, तब कानको पर्दामा कम्पन हुन्छ । यो कम्पनले मस्तिष्कमा संकेत दिन्छ । कानको जालीको माध्यम हुँदै आवाज मस्तिष्कसम्म पुग्ने भएकाले यसको मुख्य काम आवाज सुन्न सहयोग गर्ने हो ।

कानको जाली कति संवेदनशील हुन्छ ?

कानको जाली एकदमै संवेदनशील हुन्छ । किनभने कान हाम्रो इन्द्रिय हो, यसमार्फत हामीले आवाज सुन्छौं । कानमा रहेको जालीको मद्दतले हामीले आवाज सुन्ने भएकाले यसमा केही समस्या भयो भने सुनाइमा प्रत्यक्ष असर गर्छ ।

कस्तो अवस्थामा कानको जालीमा प्वाल पर्छ ?

कानमा पटकपटक संक्रमण हुँदा कानमा प्वाल पर्ने जोखिम हुन्छ । संक्रमण हुँदा पर्दापछि तरल पदार्थ एकत्रित हुन थाल्छ, त्यसैको दबाबले पर्दामा प्वाल पर्छ । साथै चोटपटकको कारण ट्रमा भएर पनि कानको जाली प्वाल पर्छ ।

अक्सर हामी कान कोट्याउने गर्छौं, यसले जालीमा प्वाल पर्छ ?

कान चिलाउने बित्तिकै एयर बर्ड, सिन्का लगायत प्रयोग गरेर हामी कान कोट्याउने गर्छौं, जसले गर्दा पनि कानमा प्वाल पर्न सक्छ । कानको जाली कहाँनिर छ भनेर मान्छेलाई थाहा हुँदैन र कान कोट्याउन तीखो चीजले घोच्दा कानको जालीमा प्वाल पर्न सक्छ ।

बालबच्चालाई कानमा तेल हालिदिने गरिन्छ, यो कति ठीक हो ?

बालबालिकालाई कानमा तेल हाल्दिने जुन चलन छ त्यसको फाइदा केही पनि छैन । कानमा तेलको प्रयोग गर्दा विभिन्न संक्रमणको जोखिम भने बढ्छ । कानमा तेल हाल्ने मान्छेको कानमा ढुसीको संक्रमण, कान चिलाउने र कानबाट पानी बग्ने जस्ता समस्या देखिन सक्छन् ।

कानको जाली प्वाल परेको मान्छेले कानमा तेल हाल्यो भने त्यो तेल झन् भित्रसम्म पुगेर संक्रमण गर्न सक्छ । त्यसैले कानमा तेल नहाल्नु नै उचित हुन्छ ।

कानको जाली फाटेमा के हुन्छ ?

कानको पर्दामा प्वाल पर्‍यो भने यसको असर सुन्ने क्षमतामा पर्छ । पर्दामा प्वाल परेपछि सुन्ने क्षमता कमजोर हुन्छ । यो समस्या भएमा कानबाट पानी बगिरहने, पिप आउने जस्ता समस्या पनि देखिन सक्छ ।

कानको जाली फाटेपछि यो आफैं टालिन्छ ? वा केही उपचार गर्नुपर्ने हुन्छ ?

कानको जाली फाट्ने मुख्य दुईवटा कारण हुन्छ । पहिलो कानमा पटकपटक संक्रमण भएर र दोस्रो कानमा चोटपटक लागेर । चोटपटकको कारण कानको जाली फाटेको हो भने त्यो आफैं टालिन्छ । तर धेरै पटक कानमा संक्रमण भएर फाटेको हो भने जाली आफैं टालिने सम्भावना एकदमै न्यून हुन्छ । त्यस्तो अवस्थामा शल्यक्रिया नै गर्नुपर्छ ।

कानको जाली फाटेपछि संक्रमणको जोखिम कति हुन्छ ?

कानको जाली फाटेपछि संक्रमणको जोखिम धेरै हुन्छ । पटकपटक संक्रमणको कारण कानको जाली फाट्ने र कानको जाली फाटेपछि कानको भित्रसम्म संक्रमणको जोखिम बढ्छ ।

कानको जाली टाल्नुपर्छ वा यत्तिकै छाड्दा पनि हुन्छ ?

पटकपटक कानमा संक्रमण भएका कारण कानको जाली फाटेको हो भने जाली आफैं टालिंदैन त्यसलाई टाल्नुपर्छ । चोटपटकको कारण जाली फाटेको हो भने यत्तिकै छाड्दा पनि हुन्छ त्यो बिस्तारै आफैं टालिन्छ ।

कानको जाली टाल्न कस्तो उपचार गर्नुपर्छ ?

कानको जाली टाल्न एक मात्र उपचार विधि भनेको शल्यक्रियाद्वारा कानको जाली टाल्ने हो । औषधिको सेवनबाट यसको उपचार सम्भव हुँदैन ।

कानको जाली टाल्ने शल्यक्रिया कति जोखिमपूर्ण हुन्छ ? यसको अवधि कति लाग्छ ?

कानको जाली टाल्ने शल्यक्रिया दुई किसिमले हुन्छ । कानको जाली फाटेको छ भने जाली टाल्ने साधारण शल्यक्रिया धेरै जोखिमपूर्ण हुँदैन । यो शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पनि नबनाई कानको जाली टालेर त्यही दिन घर पठाउन सकिन्छ ।

संक्रमणको कारण कानको जालीसँगै हड्डी खिइएको, कुहिएको छ भने हड्डी निकालेर जाली राख्ने यो अलि जोखिमपूर्ण हुन्छ । तर समयको कुरा गर्दा दुवै शल्यक्रिया यति नै समय लाग्छ भनेर भन्न सकिँदैन । शल्यक्रिया गर्ने विधि, डाक्टर र बिरामीको जटिलता अनुसार फरक समय लाग्न सक्छ ।

कानको जालीको शल्यक्रिया गरिएन भने त्यसको असर के के हुन सक्छ ?

कानको जालीको शल्यक्रिया समयमा गरिएन भने त्यसको जटिलता बढ्दै जान्छ । सुन्ने क्षमता कम हुँदै जान्छ । कानको जाली फाटेको कारण कानमा संक्रमण बढ्दै गएर मस्तिष्कसम्म नै संक्रमण पुग्ने हुन सक्छ । साथै मस्तिष्कमा पिप जम्ने, मुख बाङ्गो हुनेदेखि लिएर सुन्ने क्षमता पूरै हराउने पनि हुन्छ ।

कानको जाली जोगाउन के गर्नुपर्छ ?

कानको जाली जोगाउन कानलाई हरसम्भव सुख्खा र सफा राख्ने, रुघाखोकी लागेको बेला नाक बेस्सरी सींसीं नगर्ने, कान सफा गर्नका लागि तिखो चीज प्रयोग नगर्ने, कानमा तेल नहाल्ने गर्नुपर्छ ।

यस्तै बच्चालाई दूध खुवाउँदा सुताएर नखुवाउने, कोल्टे पारेर अलि माथि उठाएर मात्र खुवाउने गर्नुपर्छ । चर्को ध्वनिबाट बच्ने, कानलाई चोटपटक लाग्नबाट बचाउने, कानमा कुनै पनि प्रकारको संक्रमण देखियो भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

कानको जाली डा.अरुण केसी स्वास्थ्य
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?