
२६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नागरिकता वितरणका क्रममा पटक पटक कमजोरी भएको बताएका छन् । गैर आवासीय नेपाली संघको कार्यक्रममा बुधबार उनले नागरिकता वितरणमा सजग नहुँदा विदेशीले पनि नागरिकता पाएको बताए ।
‘पटक पटक नेपालीलाई नागरिकता दिने नाउँमा अन्यथा भएका छन् । यथार्थ के हो भने अहिले पनि केही केही ठाउँमा सीमापारीको गाउँमा भोट माग्न जानुपर्ने अवस्था छ । किन भने भोटर उता छन्’ उनले भने ।
भारतको नाम नलिइकनै उनले छिमेकीसँग लामो खुला सीमाना रहेकाले नेपाल जनसांखिक रुपमा (डेमोग्राफिक) रुपमा सजग हुनुपर्ने बताए ।
‘नेपाल एउटा लामो सीमाना खुला छ, यस्तो छिमेकीसँग खुला छ, जसको धेरै ठूलो जनसंख्या छ’ ओलीले भने, ‘यत्रो जनसंख्या भएको ठाउँमा डेमोग्रेफिक सजगता चाहिन्छ राष्ट्रिय सुरक्षाका लागि । …छिमेकबाट जति आउँछन् त्यतिलाई नागरिकता दिन सक्दैनौं ।’
अहिले गै नेपालीलाई नागरिकता दिन पाइएन भनेर मुलुकमा रुवाबासी चलिरहेको पनि ओलीले बताए । उनले नागरिकता वितरणमार्फत हुन सक्ने जनसांखिक परिवर्तनबाट नेपालीहरु अल्पमतमा पर्ने अवस्था आउन सक्ने खतरा औंल्याए ।
‘ हामी डेमोग्रेफिक चेन्जमार्फत माइनरिटीमा जान चाहदैनौं, नेपाल नेपालीको हो, नेपालीले नै शासन चलाउँछ’ ओलीले भने, ‘एकछिनका लागि हौसिएर, फराकिलो देखिएर आफ्नै देशमा माइनरिटीमा पर्नुपर्ने कुनै आवश्यकता छैन ।’
नागरिकता वितरणको सवालमा नेपालको नीति नरम रहेको भन्दै ओलीले यति नरम विश्वका कुनै पनि देश नदेखिएको दावी गरे । ‘त्यसमाथि यसलाई ह्वाङ्गै पार्न खोजिएको छ’ उनले भने ।
प्रतिक्रिया 4