
२७ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफ र उनका छोरालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ ।
गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा प्रधानमन्त्री सहबाज सरीफ तथा उनका छोराहरु सहबाज र सलमानविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो ।
अहिले पाकिस्तानको विशेष अदालतले सरीफले अकुत सम्पत्ति आर्जन गरेको पुष्टि नभएको जनाएको छ ।
सहबाज सरीफ र उनका छोराविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो । जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी गत २०७८ चैतमा पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरीफका भाइ हुन् ।
यसैबीच सहबाज सरीफ र उनका छोराहरुलाई अदालतले सफाइ दिएकोप्रति पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आपत्ती जनाएका छन् ।
प्रतिक्रिया 4