
काठमाडौं । ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
बोर्ड अध्यक्ष भुवन केसीले नेपाल-अंग्रेजबीचको नालापानी युद्धबारे बनेको फिल्मलाई कर छुट दिन पहल गरिएको बताए । यसबारे बुधबार सञ्चार सचिव वैकुण्ठ अर्यालसँग भेटेर पनि अध्यक्ष केसीले यस विषयमा आग्रह गरेका थिए ।
यसबारे केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको फिल्म पनि भएकाले बोर्डले विशेष फिल्म घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेको छ । सोहीअनुसार मैले कर छुटको लागि योग्य छ भनेर पत्राचार गरेको हुँ ।’
हलमा देखाइने विज्ञापन खर्चमा पनि सहजीकरण गर्न आफूले पहल गरेको भुवनले बताए । केसीले यस प्रकारका राष्ट्रिय गौरव बोकेका फिल्मलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको बताए ।
फिल्म निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुसी व्यक्त गरे । सञ्चार सचिव र अध्यक्ष केसीबीचको भेटमा अधिकारी पनि सहभागी थिए । भेटमा सचिव अर्यालले विज्ञापनको लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता समेत जनाए ‘स्थानीय करसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार भएको छ,’ उनले भने ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो ।
प्रतिक्रिया 4