
२७ असोज, काठमाडौं । सरकारले प्लास्टिकजन्य फूल माला र गुच्छाको आयात, उत्पादन र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, पनि साउन र भदौमा मात्रै नेपालमा ९२ लाख १८ हजार मूल्य बराबरको २८ हजार ६८५ किलो प्लास्टिकका माला नेपाल भित्रिएका छन् । जुन अघिल्लो महिनाको भन्दा १३ हजार २ सय किलोले बढी हो ।
वन तथा वातावरण मन्त्रालयले गत ४ साउनमा वातावरण संरक्षण ऐन अनुसार राजपत्रमा सूचना प्रकाशित गरेर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो ।
सरकारले प्रतिबन्ध लगाएको पहिलो महिना साउनमा ५६ लाख ७६ हजार रुपैयाँको १५ हजार ४४१ किलो यस्ता माला नेपाल भित्रिएको थियो ।
भन्सारका कर्मचारीको मिलोमतोमा प्रतबन्धित प्लास्टिकका फूलहरु निर्वाद रुपमा नेपाल भित्रिने गरेको नेपाली पुष्प व्यपारीहरुको आरोप छ । व्यापारीसँगको मिलोमतोमा भन्सार कार्यालयहरुले कृत्रिम फूलको अवैध आयातलाई वैध बनाएको नेपाली पुष्प व्यपारीहरु बताउँछन् ।
फूल आयात भएकोबारे भन्सार विभागले भने अनविज्ञता प्रकट गरेको छ । राजपत्रको सूचना र भन्सार कार्यालयहरु बीच सूचना समन्वय नहुँदा यस्तो भएको हुनसक्ने भन्दै यसबारे थप बुझ्ने विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले बताए । आयात प्रतिबन्ध अघि नै एलसी खुलेको हकमा भने नाकामा आएको सामान जाँच पास भएको हुनसक्ने उनको अनुमान छ । तर, राजपत्रले आयात अनुमति पाएका वा बैकिङ प्रणाली पूरा गरेको विषयमा केही बोलेको छैन ।
जानकारहरु यो भनेको राजपत्र जारी भएको दिनदेखि नै भन्सारले यी वस्तुको आयात जाँच पास गर्नै हुँदैन । यदी जाँच पास गरेर आयात हुन दिने हो भने राजपत्रमा छुट्टै सूचना प्रकाशित गर्नुपर्छ ।
नेपाली फूल व्यपारीलाई नोक्सान हुने र वातावरण पनि संरक्षण हुनेगरी सरकारले लागू गरेको कानुन सरकारी निकायबाटै नमान्नु दुःखद् भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक जेबी तामाङ बताउँछन् ।
‘भन्सार छलेर लुकाइछिपाइ यस्ता वस्तु ल्याउने व्यापारीको मिलोमतोमा कृत्रिम फूल आयात भएका हुनसक्छन्,’ तामाङ भन्छन्, ‘हामीले राज्यका विभिन्न निकायलाई यसबारे जानकारी गराइरहेका छौं तर समाधान भएको छैन ।’
तिहारको मुखैमा सरकारले प्रतिबन्ध लगाएको वस्तुको आयात वैधानिक तबरबाट हुनु गलत भएको भन्दै एसोसिएसनले यसलाई तत्काल रोक्नु पर्ने माग पनि गरेको छ ।
प्रतिक्रिया 4