
२७ असोज, जनकपुरधाम । धनुषाको औरही खोलामा मिथिला नगरपालिकाका जनप्रतिनिधिकै संरक्षणमा अवैध उत्खनन हुने गरेको पाइएको छ ।
अबैध रुपमा ग्राभेल, बालुवा तथा ढुंगा उत्खन्न गरी बिक्री वितरण गर्दै आएको उपकरणलाई कारबाही नै नगरी छाडेको पाइएको हो । औरही त्यही खोला हो जहाँ उत्खननको विरोध गर्दा पर्यावरण अभियन्ता दिलीप महतोको हत्या भएको थियो ।
असोज १२ गते नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा अनुगमन टोलीले अवैध उत्खनन भइरहेको अवस्थामा औरही खोलाबाट ना १ क ४४४७ नम्बरको जेसीवी १ थान, प्रदेश नं.२—०३—००१ क १९७६ नम्बरको टिपर १ थान, प्र.०३—००१त ७३२३ र प्र.०३—००१त ७३२४ नम्बरको ट्रयाक्टर २ थान नियन्त्रणमा लियो । सो उपकरणहरु इलाका प्रहरी कार्यालयलाई जिम्मा लगायो ।
मेयर महतो स्वास्थ्य परीक्षणका लागि भारतको दिल्ली पुगेपछि उपमेयर बुढाथोकीले कार्यालयको पत्र काट्दै जरिवाना नै नगरी उपकरण छाडेकी छन् ।
कारबाहीको लागि नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक जरिवाना समेत नलिई छोडिएको नगरपालिका कार्यालयले जनाएको छ ।
क्रसर माफिया संगको मिलोमतोमा उपमेयर बुढाथोकीले अवैध उत्खन्नलाई छुट दिएको कार्यालयकै एक कर्मचारीको दावी छ । उपमेर बुढाथोकीले पत्र काट्दै उक्त सवारीसाधन नगरकार्यपालिकाका सदस्य विशेश्वर साह हलुवाईको जिम्मा लगाउन भनेकी छन् । तर ती उपकरण उत्खनन गर्नेले लगेको स्थानीयबासिन्दाले बताएका छन् ।
खोला तथा चुरे क्षेत्रमा डोजर लगाउँदा ठाउँठाउँमा गहिरो भंगालो बनाएको छ । नदीजन्य ठाउँ र वरपरबाट बालुवा, ग्राभेल उत्खन्न, प्रशोधन गर्न नपाइने कानुनी व्यवस्था छ । खोलाको प्राकृतिक बहावको दायाँबायाँ तीन सय मिटर उत्खनन गर्न नपाइने व्यवस्था छ । अवैध उत्खन्न सम्बन्धमा उपमेयर बुढाथोकीले केही बोल्न मानिनन् ।
प्रतिक्रिया 4