
२७ असोज, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो नेतृत्वको मधेस सरकारलाई अन्तिम घडीमा नेतृत्व बदल्ने विचारमा थिए । मुख्यमन्त्री लालबाबु राउत हटाएर अर्को नेता ल्याउन उनीमाथि चर्को दबाव थियो । यादव पनि त्यही योजनामा थिए ।
अन्तिम समयमा उनी रोकिएका थिए । यादवले यति नगरेका कारण राउतले पूरा कार्यकाल बिताउन पाएका छन् । उसो भए मधेश प्रदेशका पहिलो मुख्यमन्त्री राउतको कार्यकाल कस्तो रह्यो त ? हामीले यादवलाई सोध्यौं । अझ उनी विगतमा गणित शिक्षक समेत भएकाले राउतले सयमा कति नम्बर पाउलान् भनी प्रश्न समेत राख्यौं ।
यादवले भने, ‘पहिलो कार्यकाल । नयाँ अनुभव । नयाँ मान्छे । संघीय प्रणालीको प्रयोगमा धेरै राम्रो गर्नु भो म भन्दिनँ । ठीकठीकै थियो ।’
तपाईंले लालबाबु राउतलाई उहाँको अन्तिम कालमा हटाउन लाग्नुभो नि त ?
पार्टीभित्र यसबारे लछलफल भएकै हो । निर्णय चाहिँ भएन ।
उहाँको कामलाई लिएर असन्तुष्टि थिए ?
अब ती कुरा बितेर गए । नयाँ फेज आइसक्यो ।
तर किन हटाउन लाग्नुभएको थियो ?
जनताका गुनासा थिए । साथीभाइका पनि भनाइहरु थिए । (बर्खास्त) गर्ने कि नगर्ने भन्ने छलफल भएको हो । तर अन्तिम बेलामा त्यसो नगरौं भन्ने कुरा भो । त्यसैले निर्णय भएन ।
तपाईं गणितको शिक्षक पनि हो । लालबाबु राउतको कार्यकाललाई सयमा कति नम्बर दिनुहुन्छ ?
फेल चाहिँ गर्नुहुन्न । कापी काट्ने हो भने उहाँ फेल हुने विद्यार्थी होइन । पास मार्क पाउनुहुन्छ उहाँले ।
मुश्किलले पास, ग्रेसमार्क दिनुपर्छ ?
पर्दैन ।
उहाँसँग तपाईं सन्तुष्ट चाहिँ हुनुहुन्न रहेछ ।
उहाँले धेरै गर्न सक्नुहुन्थ्यो । अपेक्षा जनता र पार्टीका एकदमै धेरै थिए । तै पनि केही राम्रा काम पनि भएका छन् । ती कामले प्रशंसा पाउनुपर्छ ।
यादवसँगको पूरा अन्तर्वाता केही बेरपछि अनलाइनखबरमा प्रकाशित हुनेछ ।
प्रतिक्रिया 4