
काठमाडौं । र्यापर जी-बबको परिवार र अल नेपाल थग फेमिली (एएनटीएफ)बीच सम्झौता भएको छ । जसमा कन्सर्टदेखि सेयर बाँडफाँटसम्मका बुँदा समेटिएका छन् ।
हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी-बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको हो । यो सहमतिसँगै जी-बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुनेछन् ।
नेपालमा हुने प्रत्येक कन्सर्टमा जी-बबको घरका एकजना सदस्य अनिवार्य उपस्थित हुने सहमति जुटेको छ । तर विदेशमा चाहिं भिसा लगायतका प्रक्रियामा यो बुँदा निर्भर हुनेछ ।
जी-बबको एउटा कन्सर्टबाट प्राप्त हुने रकममध्ये ७० प्रतिशत हिस्सा परिवारले प्राप्त गर्नेछ भने बाँकी ३० प्रतिशत एएनटीएफले । रकम सिधै जी-बबका आमाबुवाको खातामा पठाइनेछ ।
हाकिम गुरुङले दिएको जानकारी अनुसार एएनटीएफले देश तथा विदेशमा गरी ५० वटा शो आयोजना गर्दैछ । यी प्रत्येक शोमा आमाबाबुले जी-बबलाई अनिवार्य उपस्थित गराउनुपर्नेछ र नगराएको खण्डमा क्षतिपूर्ति तिर्नुपर्ने सहमति पनि भएको छ । सहमतिअनुसार अब जी-बब सांगीतिक टुरमा सक्रिय हुनेछन् र शोका टिकट पनि बिक्री थालिनेछ ।
सहमति पत्रमा जी-बबका बुवा राजकुमार भण्डारी र आमा हरिमाया तथा एएनटीएफका तर्फबाट आशिष सुवेदीले हस्ताक्षर गरेका छन् । जी-बब अहिले गोदावरीस्थित एक पुनर्स्थापना केन्द्रमा छन् । उनको चालचलनमा पछिल्लो समय सुधार आएको जनाइएको छ । केही महिना पहिले छोरालाई बन्धक बनाएको भन्दै जी-बबका आमाबुबाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । जी-बबले पनि आमाबाबुविरुद्ध उजुरी दिएपछि तनाव चुलिएको थियो ।
तर बिहीबार सम्झौता भएसँगै महिनौंदेखिको जी-बबको तनाव मत्थर भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया 4