
काठमाडौं । यतिबेला सबैतिर सायपत्री लगायतका फूलले बारी, बगैंचा र बार्दली ढकमक्क छन् । तिहारलाई लक्षित गरेर धेरैले यस सिजनमा सायपत्री फुलाउने गर्छन् । तिहारपछि खासगरी कात्तिक-मंसिरबाट भने जाडो सुरु हुन्छ । यतिबेला वातावरण सुख्खा र धर्ती उजाड हुन्छ । बोटबिरुवाको पात झर्न थाल्छ । हरियाली हराउँदै जान्छ ।
सबैतिर उजाड हुँदै गएको यो सिजनमा घर-बगैंचामा कस्तो फूल ढकमक्क फुलाउन सकिन्छ ? कुन कुन प्रजातिका फूल छन्, जुन जाडो याममा फुल्छन् ? त्यस्ता फूललाई कसरी कस्तो माटोमा रोप्ने ?
जाडोयाममा फुलाउन सहज
वर्षायाममा सबैतिर हरियाली देखिए पनि पानीझरीले गर्दा फूल जोगाउन गाह्रो हुन्छ । फूलमा संक्रमण हुन्छ । तर जाडो महिनामा भने यस्तो समस्या हुँदैन । त्यसैले जाडोयाममा नै घर बगैंचामा ढकमक्क फूल फुलाउन सकिन्छ ।
पानी कम पर्ने भएकाले फूल कुहिने डर हुँदैन । साथै चिसोको कारण कीराको संक्रमण पनि हुँदैन ।
कात्तिक-मंसिरमा कुन फूल फुलाउने ?
यो सिजनमा सयपत्री फूल राम्ररी फुलाउन सकिन्छ । सयपत्री फूलमा पनि विविधता हुन्छ । गाढा पहेंलो, हल्का पहेंलो जस्ता धेरै प्रकारका सयपत्री फूल पाइन्छन् । त्यससँगै गोदावरी पनि रोप्न सकिन्छ । गोदावरीमा धेरै प्रजाति र रंग उपलब्ध हुन्छ । नर्सरीमा तयार भएको बिरुवालाई घरमा ल्याएर फुलाउन सकिन्छ । एक महिनामै यी फूलहरु फुल्छन् । सामान्यतः नर्सरीमा सयपत्री फूलको बिरुवा ५० रुपैयाँदेखि सय रुपैयाँसम्म पर्छ । गोदावरी फूलको बिरुवा भने प्रतिगोटा ७५ रुपैयाँदेखि सय रुपैयाँसम्म पर्छ ।
जाडोयाममा फुलाउन सकिने फूल हो, सिनेरिया । यो बैजनी र अरु विभिन्न रंगमा उपलब्ध हुन्छ । सिनेरियालाई गमला वा बगैंचामा पनि रोप्न सकिन्छ । यसको बिरुवा नर्सरीमा सामान्यत: ६० रुपैयाँमा पाइन्छ ।
कार्तिक-मंसिरमा याममा स्न्यापड्रागन फूल पनि राम्ररी फुलाउन सकिन्छ । यसलाई हामीकहाँ भ्यागुते फूल पनि भन्ने गरिन्छ । यस फूलको बिरुवा ५०-६० रुपैयाँमा पाउन सकिन्छ ।
पेटुनिया फूल पनि यो सिजनमा फुलाउन सकिन्छ । पेटुनिया धेरै रंगको हुन्छ र निकै मनमोहक पनि । यो फूलसँग जोडिएका केही मिथक पनि छन् । भनिन्छ, पेटुनिया जहाँ फुलाइन्छ त्यहाँ सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।
यो सिजनमा राम्ररी फुल्ने फूल भनेको क्यालेन्डुला पनि हो । यसलाई पट म्यारिगोल्ड पनि भनिन्छ । यो फूल लामो समय टिकाउन सकिन्छ । खासगरी पहेंलो, सुनौलो रंगमा यो फूल उपलब्ध हुन्छ । क्यालेन्डुलालाई प्रत्यक्ष सूर्यको प्रकाशमा राख्नुपर्छ । यसलाई धेरै पानी हाल्नु हुँदैन । ओइलाइएको फूलहरु हटाउँदै राम्ररी स्याहारसुसार गरेमा लामो समय फुलाउन सकिन्छ ।
यसैगरी क्रिस्यान्थेमम फूल पनि जाडो सिजनमा फुलाउन सकिने मनमोहक फूल हो । यसका फूलहरु सुगन्धित हुन्छ । गमला र बगैंचाको माटोमा क्रिस्यान्थेममहरू राम्ररी सप्रिन्छ ।
सदाबाहर फुल्ने फूल
मौसमी फूलबाहेक अरु सदाबहार फूल हुन्छन्, जसलाई गर्मी वा जाडो दुवै सिजनमा फुलाउन सकिन्छ । जिरेनियम, हभिकस, पेटुनिया, साल्भिया, रोजमेरी, जेनिनिया, चमेली जस्ता फूल बाह्रैमास फुलाउन सकिन्छ ।
(नर्सरी व्यवसायी मगरसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4