
काठमाडौं । हलिउडको बक्स अफिस आकार ५.६ बिलियन डलर मानिन्छ । यो हिसाबलाई आधार मान्दा अमेरिकी फिल्म उद्योगले सेप्टेम्बरसम्म ४.५ बिलियन डलर कमाइसकेको छ । तर यो कमाइ सन् २०१९ मा हलिउडले कुल कमाएको ११.४ बिलियन डलरको आधा मात्र हो ।
अंग्रेजी वर्ष २०२२ को चौथो चौमासिक सुरु भएको छ र ठूलै आशा राखिएका फिल्म प्रदर्शनको तयारीमा छन् । यी फिल्मले हलिउडलाई कोरोना महामारीअघिकै अवस्थामा फर्काउन सक्ने आशा राखिएको छ ।
तर प्रश्न उठ्छ- के आशा राखिएका यी फिल्मले अपेक्षा पूरा गर्लान् ?
भेराइटी म्यागजिनका अनुसार डिसेम्बरसम्म प्रदर्शन हुने चार फिल्मले उच्च कमाइ गर्न सक्छन् । जसमा पुस १ गते रिलिज हुने तयारीमा रहेको जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’ले उच्च कमाइ गर्न सक्छ । डिज्नेको ‘ब्ल्याक प्यान्थर’ सिक्वेल, वार्नर ब्रोजको डीसी सुपरहिरो फिल्म ‘ब्ल्याक आडम’ र युनिभर्सलको फिल्म ‘हलोइन’ सिक्वेलले हलिउडलाई संकटबाट उद्दार गर्ने आशा छ ।
भेराइटीका अनुसार ‘अवतार २’ ले उत्तर अमेरिकी बक्स अफिसमा ६५० मिलियन डलर कमाउन सक्छ । यो कमाइ सन् २००९ मा रिलिज भएको अवतारको पहिलो भागबाट न्यून हुने अनुमान छ । अवतारको अघिल्लो भागले बक्स अफिसमा उत्तर अमेरिकामा ७७२ मिलियन डलर कमाएको थियो ।
ड्वेन रक जोन्सन स्टारर फिल्म ‘ब्ल्याक आडम’ले ३२८ र वाकान्डा फरेभरले ४२३ मिलियन डलर कमाउने प्रक्षेपण छ । युनिभर्सलको हलोइनले १३० मिलियन डलर कमाउने आशा छ । चौथो त्रैमासिकमा रिलिज हुने अपेक्षा गरिएका यी चार फिल्मले थोरै भए पनि हलिउडलाई संकटको गहिरो खाडलबाट बाहिर निकाल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4