
काठमाडौं। कोरोना महामारीका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा मुलुकका तीन जना स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइने निर्णय गरेको सदस्य सचिव प्रयागराज भट्टराई वशिष्ठले बताए । उनका अनुसार यो पुरस्कारमा सम्मानपत्र सहित ५१ हजार रुपैयाँ राशी राखिएको छ ।
भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्वर्गीय भारती खरेलको ८५ औं जयन्तीका अवसरमा यो पुरस्कार वितरण गर्न लागिएको हो । भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्वर्गीय भारती खरेलको स्मृतिमा उनका पति एवं समाजसेवी चन्द्रिकानन्द खरेल र छोरा एवं गायक दीपक खरेल लगायतले २०४९ सालमा प्रतिष्ठान स्थापना गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4