+

१० हजार मिटरमा स्वर्ण जित्ने को हुन् दीपक ?

२०७९ असोज  ३० गते ११:२९ २०७९ असोज ३० गते ११:२९
१० हजार मिटरमा स्वर्ण जित्ने को हुन् दीपक ?

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नु त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीका लागि करिअरको ठूलो कोशेढुंगा रह्यो ।

पोखरा रंगशालामा आइतबार बिहान सम्पन्न यो स्पर्धामा दीपकले एपीएफका भेट्रान गोपीचन्द्र पार्कीलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । सन् २०१४ को इञ्चोन एसियाली खेलकुदमा गोपीले कायम गरेको ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान आफ्नो नाममा सार्ने क्रममा दीपकले ३० मिनेट १०.३० सेकेण्डमा दूरी पूरा गरे ।

झण्डै २८ सेकेण्डले पछि परेका गोपीले ३० मिनेट ३८.३० सेकेण्डमा दूरी पूरा गरे । आर्मीकै गजेन्द्र राईले कांस्य जित्ने क्रममा ३० मिनेट ४९.५० सेकेण्डको समय निकाले ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय टिममा परेका दीपकले १० हजार मिटर दौडमा कांस्य जितेका थिए । सो स्पर्धामा गोपीले स्वर्ण जितेका थिए । राष्ट्रिय प्रतियोगिता नखेली अन्तर्राष्ट्रिय टिममा पुगेका दीपकले तीन वर्षपछि राष्ट्रियस्तरमा पनि आफू अब्बल रहेको प्रमाणित गरेका छन् ।

‘राष्ट्रिय खेलकुदमा म पहिलोपल्ट सहभागी भएको हुँ । गोपी दाइसँग खेल्नुपर्दा डर लागिरहेको थियो,’ दीपकलेभने, ‘प्रशिक्षणको टाइमिङअनुसार जित्न सक्छु भन्नेमा आशा राखेको थिएँ’, दीपकले कीर्तिमानको प्रयास सफल भएकोमा खुसी व्यक्त गरे ।

२०७१ सालमा नेपाली सेनामा भर्ती हुनुअघि दीपकलाई दौडमात्र होइन खेलकुदबारे नै केहि जानकारी थिएन । यतिसम्म कि उनलाई नेपाली सेनाले खेलकुद क्लब बनाएर राष्ट्रिय प्रतियोगिता खेल्छ भनेर पनि थाहा थिएन ।

२०७२ मा तालिम सकिएपछि छाउनीस्थित जगदल गणमा पोष्टिङ पाएका दीपकले आर्मीको आन्तरिक खेलकुद प्रतियोगिता प्रधानसेनापति ट्रफीमा सहभागिताको अवसर पाए । १५ सय मिटर दौडमा पदक जित्न नसके पनि कीर्तिमानी धावक राजेन्द्र भण्डारीले उनको क्षमता पहिचान गरे र भित्रुवन आर्मी क्लबमा ल्याए ।

प्रशिक्षण सुरु गरे पनि दीपकले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाएका थिएनन् । आर्मीमा प्रतिस्पर्धा धेरै हुँदा उनी पछि परेका थिए । तर, उपयुक्त अवसरको पर्खाइमा थिए ।

२०७६ मा तत्कालीन प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन नपाएका उनले सोही वर्ष प्रधानसेनापति ट्रफीमा ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेपछि राष्ट्रिय टिमसम्मको यात्राका लागि सहज भएको थियो ।

मैले खेलकुदमा यहाँसम्मको यात्रा गर्न सक्नुमा राजेन्द्र सरको सबैधन्दा ठूलो भूमिका छ । उहाँले नै मलाई क्लबमा ल्याएर प्रशिक्षण गराउनुभयो र यत्तिको लायक बनाउनुभयो,’ दीपकले आफ्नो सफलताको सम्पूर्ण श्रेय अवकासप्राप्त क्याप्टेन भण्डारीलाई दिए ।

राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै स्वर्ण जितेका दीपकले एउटा स्पर्धामा सहभागी भएका हुन् । भविष्यमा म्याराथनका लागि पनि प्रयास गर्ने उनले बताएका छन् ।

दीपक अधिकारी नवौं राष्ट्रिय खेलकुद
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय