
काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली संगीतका समेत अभिभावक थिए । गीतकार समेत रहेका जोशीसँग जोडिएको संगीतका केही किस्सा छन्, जसले आशावादी बन्न प्रेरणा दिन्छ ।
संगीतको माध्यमबाट राष्ट्रियताको जगेर्ना गर्न सकिने उनको मत थियो । यसका लागि सरकारी तहबाट पर्याप्त स्थान दिनुपर्ने उनी बताउँथे ।
शिक्षा प्रणालीमा पनि संगीतलाई तल्लो तहदेखि नै समेटेर लैजानुपर्ने धारणा राख्ने सत्यमोहन विभिन्न जातजाति, भाषाभाषीका रीतिरिवाज, कलासंस्कृति र धर्मकर्मलाई समेटेर राष्ट्रियताको भावना निर्माण गर्न संगीतको महत्वपूर्ण स्थान रहने बताउँथे ।
संगीतमा नोबेल पुरस्कार विजेता अमेरिकी संगीतज्ञ बब डिलनको सन्दर्भ कोट्याउँदै उनले भनेका थिए, ‘ठूलो-ठूलो घर बनाएर, ठूलो-ठूलो सडक र कारखाना बनाएर मात्र देश समृद्ध हुने हो र ? बब डिलनले संगीतमा नोबेल पुरस्कार पाएपछि त संगीत जगत् अहिले धपक्क बलेका छ ।’
टेलिभिजन रियालिटी शो लोकस्टार नेपालमा अतिथि बनेका जोशीसँग पहिलो सगरमाथा आरोही एडमन्ड हिलारीसँगको रोचक किस्सा छ । सन् १९५३ मा तेन्जिङ नोर्गे र हिलारीले पहिलोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा जोशी हिलारीको देश न्युजिल्याण्डमा थिए ।
त्यहाँ रहँदा लोकसंगीतको माध्यमबाट जोशीले नेपाल चिनाउने प्रयास गरे । उनले गीत गाएरै तेन्जिङको गाउँको चिनारी दिएका थिए ।

हिलारी र तेन्जिङको कारण आफूले त्यहाँ ठूलो सम्मान पाएको सत्यमोहनले यसरी स्मरण गरेका थिए–
उनीहरुले तेन्जिङको गाउँमा कस्तो किसिमको गीत गाउँछ भनेर मलाई सोधीखोजी गरे । जीवनपद्धति कस्तो छ ? जीवनशैली कस्तो छ ? के खान्छन्, के लाउँछन् ? संगीत कस्तो किसिमको छ ? हिममानव कस्तो हुन्छ र के खान्छ भनेर सोधेका थिए ।
मैले भनें, ‘मलाई हिममानवको कुरा त थाहा छैन । म त्यहाँ पुगेको पनि छैन । तेन्जिङको गाउँको कुरा गर्ने हो भने दुई-चारवटा गीत त म आफैं पनि गाउन सक्छु नेपाली लोकगीत भनेर भन्दाखेरि उनीहरुले कस्तो गीत गाउनुहुन्छ भनेर सोधे ।
त्यो बेला मैले उनीहरुलाई नेपाली लोकगीतबाट नेपालको परिचय दिएको थिएँ । लोकसंगीत र लोकभाकाबाट उनीहरुलाई निकै प्रभावित पारेको थिएँ । जस्तै,
‘मायारानीलाई
ए लैजाने त आँधीखोले बाटो
मायारानीलाई’
मैले यो गीत गाउँदा उनीहरु छक्क परे ।
लोकस्टार नेपाल शोमा सत्यमोहन जोशीले भनेका थिए, ‘केटाकेटीमा त नाचियो होला । जवानीमा पनि गाइयो होला । बुढेसकालमा नाच्ने गाउने होइन कि भगवानको श्रवण र कीर्तनमा लागिरहेको छु ।’
नेपाली संगीतको पछिल्लो अवस्थाबारे जोशी चिन्तित समेत थिए । लोकस्टार कार्यक्रममा उनले भनेका थिए, ‘यो छँदाछँदै पनि नेपालको संगीतले आफूलाई सुधार्ने किसिमले अघि बढे धेरै जाती हुन्छ ।’
प्रतिक्रिया 4