
३० असोज, काठमाडौं । नेपाली निजी क्षेत्रले अर्थतन्त्रमा गरिरहेको योगदानको अध्ययन हुने भएको छ । निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान स्पष्ट पार्ने र यस क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमबीच सहमति भएको छ । दुई निकायबीच भएको समझदारी अनुसार निजी क्षेत्रले अर्थतन्त्रमा पारेको योगदानबारे प्रतिवेदन तयार पारिने छ ।
प्रतिवेदनमा देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गरिने महासंघ र आईफसीले जानकारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।
‘सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । ९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसाय निजी क्षेत्रको स्वामित्वमा छन् । यसमा शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक क्षेत्रहरूमा गरिएका उल्लेख्य लगानी समावेश छ । पूँजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति रहेको छ । मुलुकभित्र लाखौं जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध रहेका छन् । यति हुँदाहुँदै पनि, दक्षिण एसियाली मुलुकहरूमध्ये औद्योगिक क्षेत्रमा नेपालको औसत श्रम उत्पादकत्व हालसम्म पनि न्यून रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक रहेको बताए । बृहत् तथा सु-सूचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको भन्दै उनले यो प्रतिवेदनको महत्वपूर्ण भूमिका हुने बताए ।
अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस फायेले सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसूचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्न निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुने उल्लेख गरे ।
प्रतिक्रिया 4