सत्यमोहन जोशीसँग मेरो पहिलो चिनजान पत्रकारका रूपमा भयो । त्यसपछि उहाँको संस्मरण संकलन, लेखनहरूको चरणमा भेट गर्ने मौका मिल्यो । पछिल्लो समय उहाँको जीवनी लेख्ने क्रममा अझै नजिकिने मौका पाएँ । जीवनी लेखनको क्रममा मैले देखे-भेटेको सत्यमोहन मेरो जीवनकालमा भेटेमध्येका यो राष्ट्रलाई नै सबैभन्दा बढी माया गर्ने एक जना नेपालीको रूपमा पाएको थिएँ ।
त्यसो त हामी सबै नै राष्ट्रलाई माया गर्छौं भन्छौ यति हुँदाहुँदै पनि राष्ट्रलाई माया गर्ने मान्छेहरू छन् कि छैनन् भन्ने प्रश्न उठाउने स्थिति देखिएको छ । यस्तो अवस्थामा मैले चाहिं सत्यमोहन जोशी जस्तो व्यक्ति पनि आजपर्यन्त हामीबीच हुनुहुन्छ भनेर त्यसैमा गौरव गर्ने गरेको थिएँ ।
यस्तो व्यक्ति आजबाट हामीबीच रहनुभएन । कतिपय मान्छेहरू बुढेसकालले गर्दाखेरि उहाँका उमेरका कुराहरू आउँछन् तर सत्यमोहन जोशीमा यत्ति क्षमता थियो कि सास नरोकिएको भए अथवा कथंकदाचित उहाँ होशमा आउनुभएको भए अहिले पनि तपाईंलाई उहाँको जीवनकालको १०३ वर्षको नेपाली इतिहासको कुनै पनि खण्ड, क्षण, समय सोध्यो भने सम्झेर बताउन सक्ने क्षमताको हुनुहुन्थ्यो । त्यो चेतना स्तर थियो, उहाँको ।
हामी जहिल्यै पनि कसैको निधनले राष्ट्रलाई क्षति भयो भन्छौं । कतिपय आवश्यक नपरेको ठाउँमा पनि राष्ट्रलाई क्षति पुगेका भन्छौं तर मैले मेरो जीवनमा राष्ट्रलाई अपूरणीय क्षति हुने गरी कसैको निधन भएको चाहिं आजै देखेको हुँ । आज सत्यमोहन जोशी हामीबीच हुनुहुँदैन, यो असाध्यै तितो यथार्थ हो ।

म पत्रकार हुँदा संस्कृतिविद् भनेर लेख्थें, लेख्थ्यौं । यस्ता धेरै उहाँको व्यक्तित्वमा परिचय जोडियो । तर सत्यमोहन जोशी जस्तो व्यक्तित्वलाई कुनै एउटा परिचय वा पहिचानमा समेटेर राख्न सक्छौं जस्तो लाग्दैन । उहाँ पहिलो नम्बरमा भन्दा देशलाई माया गर्ने मान्छे हुनुहुन्थ्यो र दोस्रो नम्बरमा कर्मयोगी । आफ्नो बाटोमा जे जे आयो जे काम गरेर देशलाई योगदान दिन सकिन्छ त्यो कामहरू गर्नुभएको छ । के कामहरू गर्नुभएको छ भन्ने त फेहरिस्त नै छ । त्यत्रो किताब लेखेर समेत समेटिन सकिएको छैन । त्यो यहाँ भन्न सकिने अवस्था छैन । मैले अहिले जुन भाषामा हामी संवाद गरिरहेका छौं, बुझिरहेका छौं -खस भाषा) यो भाषा र संस्कृति पनि पहिलो पटक सत्यमोहन जोशीले सबैभन्दा पहिलो पटक २०२७ सालमा गर्नुभएको थियो । जसको मातृभाषा नेवारी हो ।
२००१ सालमा त्रिचन्द्रमा बीए पढ्दा पढदै आफ्नो करियर सुरु गर्नुभयो । त्यसपछि औद्योगिक व्यापारिक समाचार संग्रह अड्डामा जागिरे जीवन सुरु गर्नुभयो । त्यो आफैंमा नेपालको इतिहासमा महत्वपूर्ण संस्था थियो । सरदार भीमबहादुर पाँडे र अझै विजयशमशेर जस्ता व्यक्तिहरूले खोलेको संस्था हो । कलकत्ता विश्वविद्यालयबाट स्नातकोत्तर पढेर र विकासका नयाँ अवधारणा लिएर आएका व्यक्तिहरूको साझा सोचको रूपमा औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा स्थापना गरिएको थियो । र, अड्डामा पाँच जना छनोट भएका अधिकृतहरूमध्ये एक जना सत्यमोहन जोशी हुनुहुन्थ्यो ।
त्यसरी उहाँको जीवन सुरु भएको देखिन्छ । उहाँको जीवनको सुरुवात नै सेवा प्रदायकको रूपमा भएको छ । अध्ययन, अनुसन्धानका लागि गाउँ, पाखा, वनजंगल घुम्नुभएको छ । त्यो बेलाको नेपाल जुनबेला बाटोघाटो थिएन- तनहुँ, लमजुङ उहाँको क्षेत्र थियो । औलोले उहाँको मृत्यु भयो भनेर लासलाई फाल्ने तयारी भएको थियो, आजभन्दा ७८ वर्षअघि । भनेपछि त्यहाँबाट उहाँ डिप्रेसनमा जानुभयो । घर फर्केर आउने अवस्था पनि थिएन । सरकारी पैसा खाइरहेका मान्छे काम सम्पन्न गरेर नआउँदा घर घरायसीबाट तिराउने अवस्था भएको बेला न त्यहाँ बस्न सक्ने, न छोड्न सक्ने; शारीरिक पनि असाध्यै क्षीण भएको अवस्था डिप्रेसनमा जानुभयो ।
त्यसबेला उहाँ चरासँग संवाद, संगत गर्न थाल्नुभयो । त्यहाँबाट आफूलाई पुनर्जीवित गर्नुभयो । त्यहाँबाट उहाँले दर्शन सुरु गर्नुभएको छ । जुन धेरैपछिसम्म बहसको विषय हुन्छ होला । त्यससँग सम्बन्धित विज्ञहरूले अथ्र्याउनुहुन्छ होला । मैले त खालि उहाँले भन्नुभएको एउटा जीवनीलाई पानामा उतार्ने काम मात्रै गरेको हुँ ।
सत्यमोहन जोशीका योगदानहरूलाई संख्यामा गन्न अथवा भन्न सकिंदैन । भौतिक/अभौतिक धेरै योगदान छ । भौतिक योगदानको कुरा गर्ने हो भने राष्ट्रिय नाचघर २०१६ सालमा संस्कृति तथा पुरातत्व विभागको पहिलो निर्देशक हुँदा जोड्नुभएको सम्पत्ति हो । यस्ता धेरै चीज छन् । भक्तपुरको संग्रहालय । उहाँकै प्रयासमा धेरै सम्पदा जोगिएका छन्, जोगाइदिनुभएको छ । यसरी भाषा-साहित्यमा उहाँको जे-जति योगदानहरू छन् ती वर्णन गरिसाध्य हुँदैन । धेरै पछिसम्म हामी र हामीपछिका पुस्ताहरूले यो अध्ययन-अनुसन्धान गर्नको लागि पर्याप्त सामग्री छोडेर जानुभएको छ । उहाँले नेपाल बाहिर पनि नेपालीपनको छाप छोडेर आउनुभएको छ, उतिबेला । खासगरी उहाँ २०१० सालमा फेलोसिप गर्न न्यूजिल्यान्ड -तथ्यांक संकलन सम्बन्धी अध्ययन गर्न) जानुभएको थियो । त्यो बेला संयोग कस्तो पर्यो भने तथ्यांक पढ्न भनेर जानुभएको बेला विश्वको सर्वोच्च सगरमाथामा पहिलो मानव पाइला पुगेलगत्तै पुग्नुभएको थियो । एक जना न्यूजिल्यान्डकै नागरिक एडमण्ड हिलारी र हाम्रो नेपाली तेन्जिङ नोर्गेले सगरमाथामा पहिलो मानव पाइला राखेका थिए ।
त्यो समाचारले नेपालबाट पुग्नुभएका सत्यमोहन जोशी सेलिबि्रटी रूपमा सम्मानित हुनुभयो । उहाँले सुनाउनुहुन्थ्यो, बाटोमा हिंडेर केही खान खोज्दा पनि ओहो तपाईं पो भनेर भन्थ्यो । ट्याक्सी ड्राइभरले समेत भाडा लिन अप्ठ्यारो मान्ने अनुभव सुनाउनुहुन्थ्यो । उहाँ आफैंले न्युजिल्यान्डमा पहिलो नेपाली भनेर पुस्तक नै लेख्नुभएको छ । मैले पनि पुस्तकमा सकेसम्म समेट्ने प्रयास गरेको छु । यसरी न्यूजिल्यान्डका सन्दर्भ हुन् या चीनका सन्दर्भ; उहाँको योगदान धेरै छ । चीनमा पटक-पटक गरेर उहाँ चार पटक जानुभएको छ । चार पटककै भ्रमणमा उहाँले चीनबाट रेडियो पैचिङमा नेपाली भाषा कार्यक्रम प्रसारणको लागि नेपाली भाषा प्रशिक्षण दिनुभएको छ । र, अर्को जुन मैले अघि पनि भने भौतिक, अभौतिक धेरै सम्पत्ति हामीलाई छोडेर जानुभएको छ ।
अरनिको भन्ने व्यक्तिलाई खोजी गर्ने व्यक्ति नै उहाँ हो । हुन त अरनिकोको बारेमा एकदमै संक्षिप्त रूपमा इटालियन नागरिकले लेखेको पुस्तकमा त्यसभन्दा अगाडि नै आइसकेको सत्यमोहन जोशीले नै बताउनुभएको थियो । तर, अरनिको विषयमा आज हामीले जे-जति सार्वजनिक रूपमा जानकारीहरू प्राप्त गरेका छौं, जे जिज्ञासा जगाइदिएको छ त्यो काम नै सत्यमोहन जोशीको हो । यसरी देशभित्र होस् वा देश बाहिर जहाँ जाँदा पनि उहाँ सधैं कर्मशील रहनुभयो । देशको लागि के गर्न सकिन्छ, राष्ट्रिय पहिचानको लागि नेपाली र नेपालीत्वको लागि उहाँले आफूलाई आजीवन समर्पित गर्नुभयो । कतिसम्म भने हिजो-अस्तिसम्म पनि केही भन्न, केही बोल्न मसँग त्यस्ता रेकर्डहरू छन् जुन चाहिं उहाँसँग उहाँको त्यो आवाज -सासबाट बोलिएका) रेकर्डहरू छन् । मैले जानेको कुरा दिइराख्नुपर्छ, रेकर्डहरू राखोस् भनेर जिज्ञासुहरूलाई भनिराख्नुपर्छ भनेर अन्तिम समयसम्म प्रयास गरिराख्नुभयो ।
अन्तिम समयमा पनि देशको लागि केही गरौं भन्ने भाव थियो । सत्यमोहन सरसँग जब म व्यक्तिगत रूपमा नजिक भएँ त्यसपछि मलाई यो गर्न मन छ भनेर भन्नुहुन्थ्यो । त्यसपछि कुनै न कुनै रूपमा त्यो काम सम्पन्न हुन्थ्यो । हुँदा-हुँदा अन्तिममा चक्रसम्बरको चित्र उहाँको घरको भित्तामा लोक चित्रकारले बनाउनुभएको छ । जुन उहाँले आफ्नो पछिल्लो इच्छाको रूपमा राख्नुभयो । उहाँका इच्छाहरू जहिल्यै पनि संस्कृति, समाज र राष्ट्रसँग जोडिएको विषय हुन्थ्यो । जिज्ञासु र केही न केही गरौं भन्ने हुन्थ्यो ।
यदाकदा उहाँले तत्क्षण भावनात्मक भएर कतै केही कसैलाई फाइदा हुने, राजनीतिक फाइदा हुने कुरा बोल्दिनुभएको रहेछ भनेदेखि त्यो म जान्दिनँ । त्यो फेरि उहाँको उमेरगत मानसिक अवस्था र त्यतिबेलाको माहोल अथवा कस्ता व्यक्तिहरूले घेरिनुभएको थियो भन्ने कुराले पनि फरक पार्छ । तर यति लामो समय काम गर्दा मैले उहाँलाई व्यक्तिगत रूपमा कुनै पनि दल, समूह मात्रै होइन कुनै पनि जात-जाति, धार्मिक समूहमा उहाँको कुनै खालको सम्बन्ध थिएन ।
उहाँको एक मात्र सोचाइ जसरी महाभारतमा अर्जुनले माछाको आँखा मात्रै देखेको भनेर भनिन्थ्यो त्यसैगरी सत्यमोहन सरको देशको निम्ति मैले के गर्न सक्छु भन्ने मात्रै थियो । राष्ट्रको निम्ति, समाजको निम्ति, संस्कृतिको निम्ति, कलाको निम्ति, साहित्यको निम्ति, समग्र समाजको निम्ति के गर्न सकिन्छ भन्ने हुन्थ्यो । र उहाँ एकदमै जिज्ञासु हुनुहुन्थ्यो, खोजी गर्नुहुन्थ्यो । त्यो खोजेर प्राप्त भएको चीजलाई उहाँले बाँड्नुहुन्थ्यो । मलाई लाग्छ मैले मेरो जीवनकालमा सबैभन्दा बढी देशलाई माया गर्ने सत्यमोहन जोशी नै हो भन्दा मनमा अलिकति मात्र पनि म संकोच मान्दिनँ । त्यो उचाइ विरलै कसैले प्राप्त गर्न सक्छ ।
हुन त उहाँले ‘फर्केर हेर्दा’ जस्तो नाटक पनि लेख्नुभयो । ‘फर्केर हेर्दा’ २०३२/३३ सालतिर सबैभन्दा बढी देखाइएको नाटक हो । राजाको भ्रमण भएका स्थानहरूमा समेत देखाइएको, त्यो बेला अत्यधिक सफल भएको नाटक हो । तर मलाई चाहिं के लाग्छ भने सत्यमोहन जोशीको मूलतः लोक नाटकहरूमा विज्ञता थियो । सुरुवात भएको चाहिं सबैले बुझेको कुरा हामीकहाँ नाट्य परम्परा सम्भवतः कात्तिक नाच डबली हो । त्यो हेरेरै उहाँ हुर्किनुभएको हो । त्यसपछि लामो समय नाटकको क्षेत्रमा काम गर्नुभयो । बालकृष्ण सम जस्ता मान्छेहरूसँग संगत गर्नुभयो । सँगै बसेर काम गर्नुभयो । एकेडेमीमा समेत पटक-पटक रहनुभयो । सह-प्राज्ञको रूपमा र पछि सदस्य सचिवकै रूपमा रहेर काम गर्नुभयो । पछिल्लो समयसम्म एकेडेमीमा चलिरहेको नाटक महोत्सव जन्माउने नै सत्यमोहन जोशी हुन् ।
आजसम्म जीवित परम्परा रहेको गाईजात्रालाई एकेडेमीबाट बर्सेनि मनाउने सुरुवात गर्ने व्यक्ति पनि सत्यमोहन जोशी हुन् । यसरी भन्दा कुन चीजसँग उहाँको गहिरो सम्बन्ध छ कुन चीजसँग छैन भन्न सकिंदैन । उहाँले आफ्नो क्षमताबाट जे-जे चीज भ्याउनुभयो त्यो-त्यो चीज गर्नुभयो । र नाटकमा त उहाँले लेख्नुभएका नाटकहरू विभिन्न कारणले चले । सुनकेशरी मैया लोक नाटकको आफ्नो पाटो छ भने बाघभैरवको आफ्नो । बाघभैरव लोकनाटक कीर्तिपुरको एउटा ‘मिथ’मा आधारित नाटक हो । त्यो नाटक तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चालेपछि फेरि सान्दर्भिक बनाएर जगाए । नयाँ पुस्ताले समय सान्दर्भिक बनाएर ल्याए । सत्यमोहनको जीवनी लेख्ने प्रेरणा मलाई यिनै कारणले मिलेको थियो ।
म बालकुमारी, ललितपुरमा बस्छु । बखुःबहाल (उहाँको घरको) बाटोबाट हिंडिरहन्छु । बाटोमा हिंड्दा मन्दिर देखेपछि स्वतस्फूर्त ढोग्न आउँछ । त्यही क्रममा सत्यमोहन जोशीको घरमा पनि ढोग्न पुग्दोरहेछु । कुन श्रद्धाले हो थाहा छैन तर यहाँ पनि एउटा देउता बस्छ भन्ने परेको थियो । र त्यो किसिमको श्रद्धा जगाउने काम उहाँकै कामहरूले गरेको हो । सुरुदेखि होइन । पत्रकारको रूपमा जाँदा उहाँले मलाई धेरै चोटि नकार्नुभयो । मेरा प्रश्नहरूलाई महत्व नदिने व्यवहार धेरैपटक बेहोरें । तर खै के कारणले हो म नजिकिंदै गएँ । पछिल्लो समय आत्मीयताको स्पेस उहाँले नै दिंदै जानुभयो । एक किसिमले भन्ने हो भने म उहाँभित्र प्रवेश गर्दै गएँ । मलाई लाग्छ यसकै मूर्तरूप चाहिं त्यो पुस्तक विमोचनको दिनमा जुन उहाँले भन्नुभएको छ- ‘म भएर उहाँले लेख्नुभएको छ । उहाँ नै म हो ।’ सत्यमोहन जोशी जस्तो सर्वोच्च नागरिकले मलाई यत्ति नजिक राख्नुभयो त्यसलाई नै मैले आफ्नो सबैभन्दा ठूलो आशीर्वादको रूपमा लिएको छु । आज मैले यस्तो अभिभावक गुमाएको छु जो मेरो मात्रै होइन सिंगो राष्ट्रको अभिभावक हुनुहुन्थ्यो ।
(अनलाइनखबरको मल्टिमिडिया स्तम्भ ‘ओके २० मिनेट्स’मा गत वर्ष प्रकाशित ‘सत्यमोहन’ जीवनी पुस्तकका लेखक गिरीश गिरी )
प्रतिक्रिया 4