+

कीर्तिमानी बुवाको पाइला पछ्याउँदै स्क्वासमा अमृतको ‘ह्याट्रिक’ जित

२०७९ असोज  ३१ गते १५:५५ २०७९ असोज ३१ गते १५:५५

राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक स्वर्ण जितेका अमृतले सन् २०१५–१६ मा २–३ वटा प्रतियोगितामा त बुवासँगै पनि सँगै भिडेका थिए । ती सबै प्रतियोगिता पनि उनकै पोल्टा पर्‍यो । अमृतले हराउन थालेपछि नै हिराबहादुरले सक्रिय खेल जीवनबाट सन्यास लिएका हुन् भन्ने पनि छन् ।

कीर्तिमानी बुवाको पाइला पछ्याउँदै स्क्वासमा अमृतको ‘ह्याट्रिक’ जित

३१ असोज, पोखरा । नेपाली खेलकुद जगतमा एक दुर्लभ उदाहरण हुन्, स्क्वासका हिराबहादुर थापा । जसले आफ्नो खेल जीवनमा कहिल्यै दोस्रो हुनु परेन, लगातार १७ पटक राष्ट्रिय च्याम्पियन बने ।

लगातार लामो समय अविजित रहँदै थापाले २०७३ मा खेल जीवनबाट सन्यास लिए । तर, स्क्वासबाट टाढा भागेनन्, हाल उनी राष्ट्रिय टिमका प्रशिक्षक छन् ।

तिनै थापाको पदचाप पछ्याउँदै उनका छोरा अमृत थापामगर अगाडि बढिरहेछन् ।

अमृतले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा सोमबार भएको पुरुष एकल स्क्वास प्रतियोगितामा स्वर्ण पदक हात पारे । राष्ट्रिय खेलकुदमा योसँगै उनी तेस्रो पटक च्याम्पियन बनेका छन् । यसअघि उनले सातौं र आठौंमा पनि स्वर्ण पदक पहिरिएका थिए ।

गोखरामा जन्मिएका अमृत ललितपुरमा बस्छन् । थापाको घरबाट नजिकै रहेको स्क्वास कोर्ट नै उनको बाल्यकालको खेलमैदान भयो । राष्ट्रिय च्याम्पियन बाबुको पछिपछि लागेर स्क्वास कोर्ट धाउँदाधाउँदै उनी लगातार तेस्रो पटक राष्ट्रिय च्याम्पियन बन्ने भए ।

‘हुन त म पाँचौं राष्ट्रियदेखि नै खेल्न थालेको हुँ । तर, त्यतिबेला म सानो पनि थिएँ, एक्स्पेरियन्स पनि थिएन । त्यस्तो ठूलो अचिभमेन्ट भएन,’ तेस्रो पटक स्वर्ण जितेको खुसी साट्दै उनले भने ‘छैठौंमा एसएलसीसीको होस्टेलमा भएर खेल्न पाइनँ, त्यसपछि कन्टिन्यू थ्री टाइम्स गोल्ड मेडलिस्ट बनें ।’

हिराबहादुर थापा । फाइल तस्वीर

लगातार राष्ट्रिय च्याम्पियन बनिरहेका अमृतका बुवाले सन्यास लिएकै वर्ष भएको सातौं राष्ट्रिय खेलकुदमा नै उनले पहिलो पटक स्वर्ण पदक हात पारेका थिए । ‘बुवा १७ पटकसम्म लगातार नेशनल च्याम्पियन बन्नुभो, बुवापछि मैले नै लिएको हुँ,’ उनले सुनाए ।

अमृत सन् २०१५–१६ मा २–३ वटा प्रतियोगितामा त बुवासँगै पनि सँगै भिडेका थिए । ती सबै प्रतियोगिता पनि उनकै पोल्टा पर्‍यो । अमृतले हराउन थालेपछि नै हिराबहादुरले सक्रिय खेल जीवनबाट सन्यास लिएका हुन् भन्ने पनि छन् । तर थापा भन्छन्, ‘यसलाई खोसेको भन्ने कि के भन्ने ? तर, उहाँपछि म नै च्याम्पियन भइराखेको छु ।’

थापाले सोमबार फाइनलमा पराजित गरेका बागमती प्रदेशका अरहन्तकेशर सिम्ह उनका नयाँ प्रतिद्वन्द्वी भने थिएनन् । उनीहरु सातौं राष्ट्रिय खेलको फाइनलमा आमनेसामने भइसकेको थिए । संयोगले दुवै खेल अमृतले नै जिते ।

अरहन्त, अमृत र अमिर ब्लोन । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

‘उसले (अरहन्त) अरु टुर्नामेन्ट जितिराखेको थियो । युकेमा खेलिराखेको भएर उसको गेम्स एक्स्पेरिन्स धेरै छ । हामी होमग्राउन्डमा खेलेको भएर म्याच एक्स्पेरिन्स पनि कम भएको हो,’ अमृत भन्छन्, ‘ऊ मेन्टल्ली बलियो भए पनि म फिजिकल्ली बलियो थिएँ ।’

अमृतले साउथ एसियन गेम्स, एसियन गेम्स खेलिसकेका छन् । तर, राज्यबाट जुनसुकै खेल पनि बेवास्तामा परेको अमृतको गुनासो छ । ‘सरकारकातर्फबाट खासै सहयोग छैन । सबै खेलमा उस्तै समस्या होला,’ भन्छन्, ‘मेनमेन, टुर्नामेन्ट हुँदा सर्टेन टाइमका लागि हुन्छ । तर, अरुबेला कसैको पनि केही थाहा हुँदैन ।’

उमेरले २६ औं वसन्तमा हिँडिराखेका अमृत अझै १० वर्ष स्क्वासमै रमाउन चाहन्छन् । ‘अझै १० वर्षजति खेल्छु । त्यतिबेलासम्म इन्टरनेशन लेभलसम्म नै पुग्ने लक्ष्य छ ।’ बुवामात्रै नभएर अमृतको परिवारमा उनको दिदी पनि स्क्वासकै खेलाडी हुन् । दिदी कृष्णा थापा पनि नवौं राष्ट्रिय खेल्न मैदानमै छिन् ।

कहिलेकाहीं कीर्तिमानी बुवाको राष्ट्रिय कीर्तिमान तोड्छु भन्ने लाग्छ कि लाग्दैन ? जवाफमा अमृत भन्छन्, ‘मनमा त हुन्छ । गर्न सकिन्छ सकिँदैन थाहा छैन । तर, सोच त्यही छ ।’

अमृत थापा मगर नवौं राष्ट्रिय खेलकुद हिराबहादुर थापा
लेखक
विकास रोकामगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय