
३१ असोज, काठमाडौं । जिल्ला र प्रदेश कमिटीले सिफारिसमा नपरेका व्यक्तिलाई पार्टी केन्द्रले प्रदेश सभा उम्मेदवार बनाएपछि धादिङ एमालेमा भाँडभैलो मच्चिएको छ ।
धादिङ क्षेत्र नं. १ ‘क’ मा नेकपा एमाले जिल्ला कमिटी धादिङ र बागमती प्रदेश कमिटीले पार्टीका पूर्व अध्यक्ष नेत्रप्रसाद पौडेललाई उम्मेदवारीमा सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले युवा संघका नेता रमेशप्रसाद आचार्यलाई टिकट दिएपछि पौडेलले बागी उम्मेदवारी दिएका थिए ।
आचार्यका प्रस्तावक बसेका नेकपा एमाले थाक्रे गाउँपालिकाका अध्यक्ष कृष्ण पन्तले बागी उम्मेदवार पौडेललाई सघाउने निर्णय गरेका छन् । सोमबार बसेको पार्टीको थाँक्रे गाउँपालिका समितिको बैठकमा उपस्थित अधिकांश नेता कार्यकर्तासँगै आफूले पनि पार्टीका उम्मेदवार आचार्यलाई सघाउन नसक्ने निर्णय गरेको पन्तले अनलाइनखबरलाई जानकारी दिए ।
‘पार्टीका महासचिव शंकर पोखरेलको निर्देशनबमोजिम हामीले नेता पौडेललाई सिफारिस गरेका हौं,’ पन्तले भने, ‘पछि केन्द्रबाट पार्टीको कुनै पनि कमिटीले सिफारिस नगरेको आचार्यलाई उम्मेदवार बनाइयो र अहिले दुईजना उम्मेदवार बन्ने अवस्था आएको छ ।’
नेता पन्तले पार्टीले दुईमध्ये एक उम्मेदवारलाई फिर्ता नगरेसम्म सिंगो पालिका कमिटी चुनावी अभियानमा सक्रिय नहुने उनले बताए ।
प्रतिक्रिया 4