
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विपक्षी दल नेकपा एमाले काम नगर्ने तर कुरा गर्ने पार्टी भएको आरोप लगाएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले कांग्रेस थोरै बोल्ने र धेरै काम गर्ने दल भएको दाबी गरे ।
‘हामी कुरा कम गर्छौं । काममा विश्वास गर्छौं,’ महतले एमालेतिर संकेत गर्दै भने, ‘विपक्ष दल फिटिक्कै काम गर्दैन । कुरा बढी गर्छ ।’
२०४६ पछि छोटो अवधिमा आर्थिक पूर्वाधारमा फड्को मार्ने काम कांग्रेस नेतृत्वकै सरकारले गरेको दाबी उनले गरे । निर्वाचन कांग्रेस नेतृत्वकै सरकारमा आर्थिक अवस्थालाई सबल बनाउने उनले बताए ।
महतले लगानी मैत्री वातावरण कांग्रेसको सरकारमा मात्रै सम्भव हुने दाबी गरे । ‘व्यापार घाटा घटाउँछौं । यथेष्ट मात्रामा विद्युत् उत्पादन तथा प्रयोग गरी व्यापार घाटा घटाउने कार्य गर्छौं,’ महतले भने ।
कांग्रेस नेतृत्वको सरकारमा भ्रष्टचारमा शून्य सहनशिलता हुने र लगानीकर्ताको लगानी डुब्छ कि भन्ने आशंकाको अन्त्य गरिने दाबी गरे ।
विदेश नीति नेपाल केन्द्रित र नेपालीको आवश्यकता अनुरुपको अपनाउने उनले बताए ।
प्रतिक्रिया 4