३१ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा नेपाल आर्मी क्लबकी कमला श्रेष्ठले स्वर्ण जितेकी छन् ।
पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगितामा सोमबार सम्पन्न स्पर्धामा कमलाले कुल १५३ केजी भार वहन गरी स्वर्ण जितेकी हुन् । कमलाले स्न्याचमा ६८ र क्लिन एण्ड जर्कमा ८५ केजी भार वहन गरिन् ।
सागकी दुई रजत विजेता नेपाल पुलिसकी देवीकुमारी चौधरीले रजत जितिन् । उनले स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७० गरी १२८ केजी भार वहन गरिन् ।
यो स्पर्धामा आर्मीकै अस्मिता पुलामी मगरले कांस्य जितिन् । उनले स्न्याचमा ५३ र क्लिन एन्ड जर्कमा ७० गरी १२३ केजी भार वहन गरिन् ।
सोमबारै भएको अर्को स्पर्धामा साग स्वर्ण विजेता नेपाल आर्मीका भेट्रान कमलबहादुर अधिकारीले ६७ केजी तौलसमूहमा स्वर्ण जिते । उनले स्न्याचमा ९५ र क्लिन एण्ड जर्कमा १३० गरी कुल २२५ केजी भार वहन गरे ।
आर्मीकै मुक्तिराम घलेले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा ११९ गरी कुल २०९ केजी भार वहन गरी रजत जिते ।
कुल १ केजीले पछि परेका सुदूरपश्चिम प्रदेशका अशोकसिंह भण्डारी कांस्यमा सीमित भए । उनले स्न्याचमा ९२ र क्लिन एन्ड जर्कमा ११६ केजी गरी २०८ केजी भार वहन गरे ।
महिलाको ५५ केजी तौलसमूहमा नेपाल पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन् । उनले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार वहन गरिन् ।
रजत विजेता आर्मीकी प्रभा थारुले स्न्याचमा ५८ र क्लिन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार वहन गरिन् ।
यो स्पर्धामा पनि रजत र कांस्य विजेताबीच एक केजी तौलको फरक रह्यो ।
कांस्य विजेता लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले स्न्याचमा ५६ र क्लिन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी भार वहन गरिन् ।
प्रतिक्रिया 4